ठडिँदै गोरखा दरवार
ठडिँदै गोरखा दरवार
लक डाउन पछि गोरखा दरवार पुननिर्माणको कामले तिव्रता पाएको छ ।
दोस्रो तलाको काम अन्तिम चरणमा पुगेको दरवार हेरचाह अड्डाले जनाएको छ ।‘दोस्रो तलामा झ्याल ढोका राखिसक्यो, गारोको काम अन्तिम चरणमा पुगेको छ,’ अड्डा प्रमुख हरि भुषालले भने, ‘गारोको काम सकिएपछि माथि वाल प्लेट लगाएर दलिनको काम हुन्छ ।’
नियमित काम भए अवको एक सातामा दोस्रो तलाको काम सम्पन्न हुने उनले बताए । उनका अनुसार दोस्रो तलाको पूर्व पश्चिमको गारोको काम सम्पन्न भइसकेको छ ।
दक्षिण तर्फको गारोको काम सकिने अवस्थामा रहेको र उत्तर तर्फको काम भइरहेको उनले जानकारी दिए । अहिले करिव १४ जना कामदार नियमित काममा खटिएका छन् ।
‘लक डाउन पछि काम गर्ने कामदारको पनि अभाव भएको छैन, काम धमाधम भइरहेको छ, अहिलेको कामको अवस्था सन्तोषजनक नै छ,’ कार्यालय प्रमुख भुषालले भने ।
तर निर्धारित समयमा काम सक्नेमा भने अन्योल रहेके उनले बताए । दरवार पुनर्निर्माणका लागि पचली भैरव सिभाको जेभीसँग २०७४ साल कात्तिक २९ गते ठेक्का सम्झौता भएको हो । सम्झौता अनुसार २०७६ साल मंसिर मसान्तभित्र काम सक्नुपर्ने थियो । तर तोकिएको समयमा काम सम्पन्न नभएपछि २०७७ जेठ मसान्त सम्मका लागि म्याद थप भयो ।
थप गरिएको समयमा पनि ठेकेदारले काम सम्पन्न नगरेपछि पुनः मंसिर मसान्तसम्मका लागि म्याद थप गरिएको छ । तर पछिल्लो पटक थप भएको समयमा पनि काम सम्पन्न हुनेमा आशंका रहेको कार्यालय प्रमुख भुषाल बताउछन् ।
‘अव दशै लाग्यो कामदार घर पक्कै जान्छन्, त्यसैले तोकिएकै समयमा काम सक्न मुश्किल नै देखिन्छ,’ उनले भने ।