थप १५९ जनाले लगाए कोरोना बिरुद्धको खोप
थप १५९ जनाले लगाए कोरोना बिरुद्धको खोप
जिल्लाका थप १ सय ५९ जनालाइ बिहीवार कोरोना भाइरस बिरुद्धको खोप लगाइएको छ ।
१ सय २५ महिला र ३४ जना पुरुषलाइ खोप लगाइएको गोरखा अस्पतालले जनाएको छ ।कोभिड–१९ रोकथामका लागी अग्रपंक्तिमा खटिएकाहरुलाइ लक्षित गरी वुधवारबाट जिल्लामा पहिलो चरणको खोप अभियान शुरु गरिएको हो ।
‘पहिलो दिन हिजो १ सय १६ जनाले खोप लगाउनुभयो,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने ।
खोपका लागी जिल्ला अस्पताल गोरखामा दुई वटा खोप केन्द्र स्थापना गरिएको छ । बिहीवार खोप लगाउनेमध्य गोरखा नगरपालिकाका ४७, शहिद लखन गाउँपालिकाका ३५, भीमसेन थापाका ४३, धार्चेका १९, आरुघाटका ६, सिरानचोकका ७ तथा बारपाक सुलिकोट र चुमनुव्रीका १÷१ जना रहेका छन् । उनीहरुमध्य अधिकांश स्वास्थ्यकर्मी रहेको ढकालले जानकारी दिए ।
खोप लगाएकाहरु मध्य केहीमा सामान्य ज्वरो, टाउँको दुख्ने लगायतका सामान्य लक्षण देखिएको उनले बताए । ‘खोप लगाएका मध्य ३० देखि ४० प्रतिशतमा यो लक्षण देखिन्छ भन्ने नै छ, यो त्यति ठुलो समस्या होइन,’ उनले भने । पहिलो चरणमा जिल्लाका १८ सय ८ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको हो ।
कोभिड–१९ रोकथामका लागी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविका, एम्वुलेन्स चालक, कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा संलग्न सुरक्षाकर्मी, निजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरु प्राथमिकतामा रहेको बताइएको छ ।
पहिलो चरणको खोप अभियान माघ १८ गतेसम्म चल्ने कार्यालयले जनाएको छ । ‘अहिले खोप लगाउनुभएकाहरुले एक महिना पछि फेरी अर्काे डोज लगाउनुपर्छ,’ उनले भने ।