बिद्यालयलाई बिज्ञान सामग्री, बिद्यार्थीलाई छात्रवृत्ति
बिद्यालयलाई बिज्ञान सामग्री, बिद्यार्थीलाई छात्रवृत्ति
पुस २८, गोरखा । शम्भु स्मृती प्रतिष्ठान गोरखाले बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । स्वर्गिय शम्भुबाबु मरहट्टाको २६ औ स्मृती दिवसको अवसरमा आयोजित शम्भु स्मृती समारोहका बिच सात जना बिद्यार्थीलाई जनही तीन हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।
सगरमाथा प्रावि राउतेपानीको कक्षा दुईमा अध्ययनरत छात्रा अञ्जु गुरुङ, अकला प्रावि याङकोटको कक्षा पाँचका सन्दिप श्रेष्ठ, रामशाह निमावी मझुवा देउरालीको कक्षा आठकी मनिषा थापा, रामशाह मावि देउरालीको कक्षा ९ की सुकमाया तामाङ, कक्षा १० का सुझाव गुरुङ, कृति रोका र कक्षा ११ का दुर्गा सुनार रहेको प्रतिष्ठानका सचिव रामबाबु श्रेष्ठले बताए ।
त्यस्तै बिद्यालयलाई ५० हजार रकम बराबरको बिज्ञान सामग्री पनि प्रदान गरिएको उनले जानकारी दिए । कार्यक्रमका बिच प्रतिष्ठानका अध्यक्ष केशव मरहट्टाले बिद्यालयका प्रधानाध्यापक गणेश कुमार श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
मरहट्टाको अध्यक्षता तथा गोरखा नगरपालिका वडा नम्वर १३ का अध्यक्ष हरि बहादुर खनालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गुणस्तर लेखाजोखा सुपरिवेक्षण समिति अध्यक्ष सन्त बहादुर अधिकारी, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष भानुभक्त थापा लगायतले मन्तव्य राखेका थिए । प्रतिष्ठानले यसअघि पनि बिभिन्न सहयोग गर्र्दै आएको बताइएको छ ।