तीन पालिका कोरोनामुक्त
तीन पालिका कोरोनामुक्त
माघ २४,गोरखा । जिल्लाका तीन स्थानीय तह कोरोना संक्रमणमुक्त भएका छन् । सिरानचोक, अजिरकोट र धार्चे गाउँपालिकामा हाल कोरोनाका सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको कार्यालयको तथ्याङ्कले देखाउछ । आइतवार साँझसम्मको तथ्याङ्कको अनुसार हाल जिल्लामा ९३ जना सक्रिय संक्रमित छन् ।
सबैभन्दा बढी गोरखा नगरपालिकामा २५ र सबैभन्दा कम शहिद लखन र बारपाक सुलिकोटमा ५÷५ जना रहेका छन् । त्यस्तै आरुघाट गाउँपालिकामा २३, चुमनुव्री गाउँपालिकामा १६, पालुङटार नगरपालिकामा ७, भीमसेन थापा र गण्डकी गाउँपालिकामा ६÷६ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।
आइतवार जिल्लामा तीन जना कोरोना संक्रमित थपिएका छन् । सात जनाको एन्टिजेन परिक्षण गर्दा तीन जनामा संक्रमण पुष्टी भएको हो । २५ जना संक्रमित निको भएका छन् । कोरोनाको तेस्रो लहर शुरु भएयता जिल्लामा ६ सय ६१ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । कुल १ हजार ३७७ जनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।
उनीहरुमध्ये ५ सय ६६ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ । २०७६ साल चैत्र महिनादेखि हालसम्म ८ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । ४८ हजार ७ सय २ जनाको परिक्षण गरिएको थियो । कुल संक्रमितमध्ये ७ हजार ९ सय १७ जना निको भएका छन् भने ३६ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।