गोरखा अस्पताललाई गण्डकी प्रदेशको हव अस्पताल बनाउन सम्भाव्यता अध्ययन
गोरखा अस्पताललाई गण्डकी प्रदेशको हव अस्पताल बनाउन सम्भाव्यता अध्ययन
फागुन १,गोरखा । गोरखा अस्पताललाई गण्डकी प्रदेशको हब अस्पतालको रुपमा विकास गर्न सकिनेबारे सम्भाब्यता अध्ययन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर गुणराज लोहनी नेतृत्वको टोलीले अस्पतालको पूर्वाधार, जनशक्तिको ब्यवस्थापन लगायतका विषयमा स्थलगत अध्ययन गरेको हो ।
सरकारले सातै प्रदेशका एक÷एक वटा अस्पताललाई हब अस्पतालका रुपमा विकास गर्ने योजना अघि सारेको छ । सोही क्रममा गोरखा अस्पतालमा उपलब्ध विषेशज्ञ, स्वास्थ्य उपकरण सहित अन्य पूर्वाधारको अवस्थाबारे अध्ययन गरिएको मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर लोहनीले बताए । गण्डकी प्रदेशमा गोरखा अस्पताल सहित बेनी र पर्वत अस्पतालमध्ये एउटालाई छनौट गरिने उनले जानकारी दिए ।
तीनवटै अस्पतालको स्थलगत निरिक्षण सकेर दुई साताभित्र एउटा अस्पताल छनौट गरिने उनको भनाई छ ।
कम्तिमा स्त्री तथा प्रसूती, हाडजोर्नी, इन्टरनल मेडिसिन, बालरोग, सामान्य शल्यक्रिया र एनेस्थेसियोलोजीको सेवा नियमित भएको अस्पताललाई हब अस्पतालको रुपमा विकास गर्न सकिने डाक्टर लोहनीले जानकारी दिए । गोरखा अस्पतालमा हाल एनेस्थेसिया, हाडजोर्नी र जनरल फिजिसियन बाहेकको अन्य सबै विशेषज्ञ सेवा नियमित रुपमा सञ्चालन भैरहेको मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले बताए ।
अस्पतालमा हाल मानसिक रोग, स्त्री तथा प्रसूती रोग, बालरोग, शल्यक्रिया सहितको सेवा उपलब्ध भैरहेको उनले जानकारी दिए । भौतिक पूर्वाधार, अन्य उपकरण लगायत सेवा सुविधाको उपलब्धताका आधारमा गोरखा अस्पताल प्रदेशको हब अस्पताल बन्ने सम्भावना पनि रहेको उनको भनाई छ ।
हब अस्पतालको रुपमा छनौट भएमा गोरखा अस्पतालको सेवा सुधारका लागि अमेरिकाको निक साइमन इन्ष्टिच्युटले आर्थिक सहयोग गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर गुणराज लोहनीले जानकारी दिए । हब अस्पतालका लागि छनौट भएमा गोरखा अस्पतालको विशेषज्ञ सेवा निरन्तरताको सुनिश्चितता हुने उनको भनाइ छ ।