घर भाडामा लिएर घैरुङमा स्थापना गरियो प्रहरी चौकी
घर भाडामा लिएर घैरुङमा स्थापना गरियो प्रहरी चौकी
फागुन ८,गोरखा । शहिद लखन गाउँपालिका को केन्द्र घैरुङमा प्रहरी चौकी स्थापना गरिएको छ । वडा नम्वर ६ स्थित कुल बहादुर गुरुङको घर भाडामा लिएर चौकी स्थापना गरिएको हो । उक्त चौकीको शनिवार एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले उद्घाटन गरेका छन् ।
घैरुङमा चौकी स्थापनाका लागी २०७६ साल असोज ७ गते मन्त्रीपरिषदको बैठकले निर्णय गरेको थियो । सोही निर्णय अनुसार शनिवार चौकी स्थापना गरिएको बताइएको छ । उक्त चौकीमा हाल प्रहरी हवल्दारको कमाण्डमा पाँच जनाको टोली खटाइएको एसपी शेखर खनालले बताए । ‘प्रत्येक पालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने भन्ने सरकारको निर्णय छ, त्यही अनुसार घैरुङमा पनि चौकी स्थापना गरेका हौ,’ उनले भने, ‘भौतिक संरचना नभएका कारण अहिले भाडाको घरमा चौकी राखेका छौ ।’
गाउँपालिकाले घरभाडा तिर्ने गरी चौकी राखिएको उनले जानकारी दिए । भौतिक संरचना अभावमा सो गाउँपालिका को केन्द्रमा हालसम्म चौकी स्थापना गर्न नसकिएको एसपी खनालले बताए । ‘चौकी भवनका लागी गाउँपालिकाले जग्गाको व्यवस्था गर्ने भन्ने छ, पालिकाले जग्गा खरिद प्रक्रिया अघि बढाएको छ, जग्गा भएपछि भवन निर्माणको काम अघि बढ्छ,’ उनले भने ।
यसअघि घैरुङमा ताङलीचोक प्रहरी चौकीको टोलीले हेर्नुपर्ने अवस्था थियो । अव भने थप सहज हुने अपेक्षा गरिएको छ । अन्य पालिकाको केन्द्रमा प्रहरी चौकी स्थापना भएपनि गण्डकी र सिरानचोक गाउँपालिकाको केन्द्रमा हुन नसकेको एसपी खनालले बताए । जग्गा प्राप्ती भएपछि चौकी निर्माण कार्य अघि बढाइने उनले जानकारी दिए ।