विनियोजित रकम खर्च गर्न बुढीगण्डकी असफल
विनियोजित रकम खर्च गर्न बुढीगण्डकी असफल
फागुन २३,गोरखा । बुढीगण्डकी जलबिद्युत आयोजनाका लागी चालु आर्थिक बर्ष विनियोजित रकममध्ये हालसम्म २.७ प्रतिशत मात्र खर्च भएको छ । सरकारले चालु आव आयोजनाका लागी ६ अर्व ९३ करोड रकम छुट्याएको छ । तर माघ मसान्तसम्म १८ करोड ८६ लाख मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
मुआब्जा वितरणका लागी विनियोजित उक्त रकम ह्रासकट्टी विवादका कारण वितरण गर्न नसकिएको आयोजनाले जनाएको छ । तर अहिले डुवान क्षेत्रमा पर्ने घरगोठ तथा फलफुल र बोटबिरुवाको मुआब्जा वितरणमा ह्रासकट्टी नगर्ने मन्त्रीपरिषदको बैठकले निर्णय गरिसकेको छ । अव भने मुआब्जा निर्धारण गरेर वितरणको काम अघि बढ्ने आयोजनाले जनाएको छ ।
मुआब्जा वितरणभएसँगै खर्च प्रतिशत पनि बढ्ने अपेक्षा गरिएको छ । गत बर्ष पनि आयोजनाका लागी आएको ६ अर्व रुपैया फिर्ता भएको थियो । गोरखा र धादिङ जिल्लाको सिमानामा बन्ने उक्त आयोजनाको मोडालिटीबारे अझै अन्योल छ । आयोजना निर्माणको कार्य चाडै शुरु गर्न भन्दै प्रभावित क्षेत्रका स्थानीयले माग गर्दै आएका छन् । तर हालसम्म कुन मोडालिटीमा आयोजना निर्माण हुने भन्ने एकीन समेत नुहदा प्रभावितहरु आयोजना बन्ने नबन्नेमा अन्यौल छन् ।
आयोजना प्रभावितका लागी २०७२ साल चैत महिनाबाट मुआब्जा वितरणको काम शुरु भएको हो । तर हालसम्म सम्पन्न हुन सकेको छैन । डुवान क्षेत्रमा पर्ने घरगोठ, फलफूल तथा बोटविरुवाको मुआब्जा निर्धारण हालसम्म हुन सकेको छैन । उर्जा मन्त्रालयका अनुसार हालसम्म मुआब्जा वितरण तथा वस्ती स्थानान्तरण र पुर्नस्थापनाका लागी साढे ३५ अवै रुपैया खर्च भइसकेको छ ।
आयोजना निर्माणका लागी पेट्रोलियम पदार्थबाट उठाइएको कर स्वरुप ८४ अर्व रकम समेत संकलन भइसकेको बताइएको छ । आर्थिक बर्ष २०७२÷७३ बाट सरकारले इन्धनमा प्रति लिटर पाँच रुपैयाका दरले कर उठाउन थालेको हो ।