मतदाता परिचयपत्र हराएको भन्दै २२७ जनाले दिए निवेदन
मतदाता परिचयपत्र हराएको भन्दै २२७ जनाले दिए निवेदन
फागुन २६,गोरखा । मतदाता परिचयपत्र प्राप्तिका लागि जिल्लाका २ शय २७ जनाले निवेदन दिएका छन् । २०७४ सालको निर्वाचनमा वितरण गरिएको मतदाता परिचयपत्र हराएको भन्दै उनीहरुले जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका हुन् । कार्यालयले परिचयपत्र हराएको, नष्ट भएको वा विभिन्न कारणले मतदाता परिचयपत्र प्रयोग हुन नसक्ने अवस्थामा पुगेकाहरुलाई निवेदन दिन फागुन २० गतेसम्मको समय तेकेको थियो ।
सोही क्रममा आफैं उपस्थित भएर तथा इमेल मार्फत २ शय २७ जनाले निवेदन दिएको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए । यो संख्या २०७४ सालमा कायम भएका मतदाता संख्याको ०.१३ प्रतिशत मात्रै हो । संकलन भएको निवेदन निर्वाचन आयोगमा पठाइएको कार्यालयले जनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा गोरखामा मतदाता संख्या १ लाख ६९ हजार ४३ रहेको थियो । आगामी स्थानीय तह निर्वाचनमा भने २०७९ साल बैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताले मतदान गर्न पाउने छन् । जिल्लामा यस्ता मतदाताको संख्या २ लाख १९ हजार ३ शय ९४ रहेको छ । तर मृत्यु भएका, बसाईं सरेका लगायत मतदाता नामावलीमा दावी विरोधपछि विवरण अद्यावधिक गर्दा यो संख्या केही कम हुने कार्यालयका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरि कार्यालयले आन्तरिक तयारीका अन्य काम पनि अघि बढाइरहेको छ । आगामी निर्वाचनमा जिल्लाभर २ शय १५ मतदानस्थल रहने निश्चित भएको जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाले बताए । गत स्थानीय तह चुनावमा २ शय १३ मतदानस्थल रहेका थिए ।
यो पटक धार्चे वडा नम्वर २ को शिव आधारभूत विद्यालय र गण्डकी गाऊँपालिका २ को पशुपति प्रजा आधारभूत विद्यालयमा नयाँ मतदानस्थल कायम गरिएको छ । मतदान केन्द्रको संख्या भने निश्चित भैसकेको छैन । २०७४ सालको स्थानीय तह चुनावमा २ शय ८२ मतदान केन्द्र रहेकोमा यो पटक १२ वटा केन्द्र थप्न आयोगमा प्रस्ताव गरिएको जिल्ला निर्वाचन अधिकारी कोइरालाले बताए ।
मतदाता संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा आयोगले केन्द्र थपघट सम्बन्धी निर्णय गर्ने उनको भनाई छ । आन्तरिक तयारीका क्रममा निर्वाचनमा खटाउनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत सम्भावित कर्मचारीको सूची संकलन गरिएको हो ।