पालुङटारमा कांग्रेस–जसपा तालमेल भाँडियो
पालुङटारमा कांग्रेस–जसपा तालमेल भाँडियो
बैशाख २२,गोरखा । पालुङटार नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) र काग्रेस विच चुनावी तालमेल नहुने भएको छ ।
वडा तह सम्म भागवण्डा गरी चुनावी प्रचारमा जाने गरि तालमेलको प्रयास भएपनि वडाको भागवण्डा नमिलेपछि तालमेल भाडिँएको हो । वुधबार कांग्रेसले पत्रकार सम्मेलन गरेर एकल रुपमा चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरेको हो । कांग्रेस र जसपाको केन्द्रीय नेतृत्वले पालुङटारमा कांग्रेसले जसपाका मेयरलाई सहयोग गर्ने सहमति गरे पनि जिल्लास्तरमा सहमति नजुटेपछि तालमेल नहुने भएको छ ।
पालुङटारको मेयर जसपा, उपमेयर कांग्रेस तथा गोरखा नगरपालिकाको मेयरमा जसपाले कांग्रेसलाई सघाउने गरि तालमेलको प्रयास भएपनि सहमति जुट्न सकेन । कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बुधबार विज्ञप्ति जारी गरी केन्द्रको निर्देशन बमोजिम जिल्लामा वडा तहसम्म तालमेलको प्रयास गर्दा दुबै दलका नेता कार्यकर्ताले एक्लाएक्लै प्रतिस्पर्धामा जाने राय दिएको बताएका छन् ।
दुबै दलबीच एकल–एकल रुपमा नै प्रतिस्पर्धा गर्ने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । कांग्रेस र जसपाको शीर्ष नेतृत्वबीच पालुङटारको मेयरमा जसपालाई कांग्रेसले र उपमेयरमा कांग्रेसलाई जसपाले सहयोग गर्ने सहमति भएको थियो । मंगलबार कांग्रेस र जसपाको जिल्ला नेतृत्व पालुङटार नगरपालिकाको वडास्तरमा तालमेलको विषयमा छलफलमा बसेका थिए । तर वडा भागवण्डामा सहमति नजुटेपछि दुबै दल मेयर र उपमेयरमा पनि तालमेल नगर्ने निश्कर्षमा पुगेका हुन् ।
कांग्रेस जिल्ला सभापति न्यौपानेले पालुङटारमा कांग्रेस एकल रुपमा निर्वाचनमा जाने भन्दै नगरपालिकामा चुनावी अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । पालुङटारमा कांग्रेसको तर्फबाट मेयरमा दिपक वावु कँडेल, नेकपा माओवादी केन्द्रबाट विवश चिन्तन, जसपाबाट प्रेम गुरुङ र एमालेबाट हरि भट्ट मेयरका उमेदवार छन् ।
उपमेयरमा कांग्रेसको तर्फबाट चेतकुमारी श्रेष्ठ, माओवादी केन्द्रको तर्फबाट वन्दना पाण्डे र एमालेबाट पार्वती पाठक उपमेयरको उमेदवार छन् । जसपाबाट उमेदवारी दिएकी नारायणी अधिकारीले भने शिर्ष नेता विच चुनावी तालमेलको सहमति भएपछि उमेदवारी फिर्ता लिएकी थिइन् । काग्रेसको तर्फबाट मेयरका उमेदवार कँडेलले अव चुनावी प्रचारलाई तिव्रता दिने बताए ।