३८ विद्यार्थीमा कोरोना विद्यालय वन्द
३८ विद्यार्थीमा कोरोना विद्यालय वन्द
श्रावण ३१, गोरखाः कोरोना जोखिम वढेपछि भिमसेन थापा गाउँपालिकाका पाँच वटा विद्यालयको पठन पाठन वन्द गरिएको छ । भिमसेन थापा गाउँपालिका–१ को विन्द्रावती मावि, दुल्लभ मावि घ्याम्पेशाल, कनकामना र चण्डेश्वरी आधारभुत विद्यालय तथा नवजागृति चण्डी मावि अश्राङको विद्यालयका विद्यार्थीहरुमा कोरोना देखिपछि पठन पाठन वन्द गरिएको हो । विद्यालय ब्यवस्थापन समितिले विद्यालय वन्द गर्ने निर्णय गरेका हुन् ।
दुल्लभ माविमा ६४ जनाको कोरोना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको छ । बिन्द्रवतिको ५० जनामा कोरोना परिक्षण गर्दा ७ जना, कनकामनाको ४० जनाको कोरोना परिक्षण गर्दा दुइ जना, चण्डेश्वरीको ३३ जनाको कोरोना परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले बताए । नवजागृति चण्डी मावि अश्राङमा ५६ जनाको कोरोना परिक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको छ । विद्यार्थीहरुमा सामाय रुघाखोकीकको लक्ष्ण देखिएपछि कोरोना परिक्षण गराउँदा संक्रमण देखिएको उनले बताए ।
संक्रमितको स्वास्थ्य अवस्था भने सामान्य रहेको उनले जानकारी दिए । जिल्ला भर हाल ८३ जना सक्रिय संक्रमित छन् । गोरखा नगरपालिकामा ५ जना, पालुङटार नगरपालिकामा ७ जना, शहिद लखन गाउँपालिकामा १ जना, अजिरकोट गाउँपालिकामा १३ जना, सिरानचोक गाउँपालिकामा ८ जना, आरुघाट गाउँपालिकामा ७ जना र धार्चे गाउँपालिकामा १ जना सक्रिय संक्रिमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । साउन महिनामा मात्र ६सय ३७ जनाको कोरोना परिक्षण गर्दा १ सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ । ति मध्ये ५८ जना निको भएका छन् । भिमसेन थापा गाउँपालिकामा मात्र कोरोना संक्रमित ४१ पुगेका छ ।