माघे संक्रान्ति पर्व विविध कार्यक्रम गरी मनाउने
माघे संक्रान्ति पर्व विविध कार्यक्रम गरी मनाउने
गोरखा : नेपाल मगर संघ जिल्ला समन्वय समिति गोरखाले माघे संक्रान्ति पर्व विविध कार्यक्रम गरी मनाउने भएको छ ।
आइतवार जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गर्दै समितिले सो दिन हरमटारी खेलमैदानमा विविध कार्यक्रम हुने जनाएको छ । कार्यक्रममा मगर समुदायको संस्कृती झल्कने बिभिन्न खालका सांस्कृतिक प्रस्तुतीहरु हुने समिति जिल्ला अध्यक्ष बिष्णु राना मगरले बताए ।
उनका अनुसार कार्यक्रमअघि झाँकी सहितको ¥याली समेत निकालिने छ । ‘नयाँबजारबाट ¥याली निकालेर बसपार्क–बिसौनी हुदै रंगशाला लान्छौ,’ उनले भने, ‘त्यसपछि हाम्रो औपचारिक कार्यक्रम शुरु हुन्छ ।’ गोरखा महोत्सव जारी भएपनि सो दिनका लागी आफूहरुलाई स्टेज र ठाउँ उपलब्ध गराउन गोरखा उद्योग वाणिज्य संघसँग आग्रह समेत गरिएको उनले जानकारी दिए ।
पर्वकै अवसरमा समितिको १३ औ अधिवेशन पनि हुने बताइएको छ । अधिवेशनकै अवसरमा भैरव स्मारिका समेत प्रकाशन गरिने छ । मगर समुदायको संस्कृती जर्गेनाका लागी पनि स्मारिकाले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।