बूढीगण्डकी जलविद्युत आयोजना शिलान्यास गर्न सांसद बजगाईको माग
बूढीगण्डकी जलविद्युत आयोजना शिलान्यास गर्न सांसद बजगाईको माग
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बूढीगण्डकी जलविद्युत आयोजना शिलान्यास गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै गोरखा १ बाट निर्वाचित सांसद बजगाईले वैशाखमै बूढीगण्डकी जलविद्युत आयोजना शिलान्यास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारलाई ध्यानाकर्षण गराएका हुन् । ‘बूढीगण्डकी आयोजना वैशाखमै शिलान्यास गर्न प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने, ‘चुनावका बेला हामीले प्रतिबद्धता गरेअनुसार बूढीगण्डकी आयोजना अघि बढाऔं ।’ उनले बूढीगण्डकी आयोजनाको २ अर्ब रुपैयाँ नारायणी तटबन्धलगायतमा रकमान्तर गरिएको भन्दै उक्त रकम फिर्ता हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत गरेका छन् । उनले प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरसम्म आउजाउ गर्ने सडक कालोपत्र गर्नसमेत माग गरेका छन् । फरक प्रसंगमा उनले सरकारी भवन बनाउँदा नेपाली मौलिकता नदेखिएको पनि बताए । संसद भवनमा मन्त्रीहरूसँग आँखामा आँखा जुधाएर सांसदले कुराकानी गर्न नपाएकोले नयाँ बन्ने संसद भवन त्यस्तो प्रकृतिबाट बन्नुपर्ने पनि बताए ।