बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह
बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह
सुरुवात ःनेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद पाण्डेले भारत र बङ्गलादेशलाई विद्युत् बेच्न र भारतसँग समग्र व्यापार घाटा घटाउन यस्ता ठूला आयोजनाका कामलाई गति दिनुपर्नेमा जोड दिए ।दुई खर्ब ६० अर्ब लाग्ने सो आयोजना धादिङ र गोरखाको सिमानामा छ । कूल एक हजार दुई सय मेगावाट क्षमताको उत्पादन हुने सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको छ ।
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पाण्डेले मुलुक विद्युत् उत्पादनको महत्वपूर्ण चरणमा पुगेको अवस्थामा उत्पादन, वितरण र बिक्रीको समग्र योजना बनाउन पनि माग गरे । उनले ठूला सिँचाइ आयोजना सफल हुन समय लागेकाले साना सिँचाइ आयोजनालाई पनि महत्व दिन र मधेसमा नदी कटानलाई व्यवस्थित गर्न पनि आग्रह गरे ।