तामझाम, तडकभडक र खर्चिलो हुने गरी तिज नमनाउन आग्रह
तामझाम, तडकभडक र खर्चिलो हुने गरी तिज नमनाउन आग्रह
गोरखा ःजिल्ला प्रशासन कार्यालय गोरखाले खर्चिलो तथा महंगा तिजसँग सम्वन्धित कार्यक्रम संचालन नगर्न नगराउन अनुरोध गरेको छ ।
वुधबार सार्वजनिक सुचना जारी गर्दै परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खालका खर्चिला तथा महंगा तिजसंग सम्बन्धित कार्यक्रम संचालन नगर्न नगराउन जिल्लावासीहरुमा अनुरोध गरेको हो ।
परम्परा एवम् रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बर्द्धन गर्ने बाहेक अन्य नियम विपरित हुने गरी कोही कसैले अनावश्यक भड्किलो रुपमा तामझाम, तडकभडक र खर्चिलो हुने गरी सार्वजनिक स्थल, पार्टी प्यालेस लगायतका अन्य स्थानहरुमा कानून विपरित रकम संकलन गर्ने उद्देश्यले मेला, महोत्सव आयोजना गरे गराएमा कानून बमोजिम कारवाही हुने चेतवानी दिइएको छ ।
सु–संस्कार कायम गर्ने कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघ संस्थाहरु, महिला सञ्जाल तथा सम्पूर्ण जिल्लावासीहरु बाट सहयोगको अपेक्षा गरिएको पनि प्रशासनले जनाएको छ ।
‘विगत केही वर्ष यता हरितालिका तिज पर्व मनाउने नाममा अत्यन्त खर्चिला तथा तडक भडक कार्यक्रम गर्ने प्रवृत्तिका कारण विभिन्न विकृति विसंगति एवं सामाजिक अपराधलाई प्रोत्साहन पुगेको देखिन्छ ,’ सुचनामा भनिएको छ,‘धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने सम्बन्धमा सामाजिक व्यवहार (सुधार) ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गरेको छ ।’