लाप्राकमा मकैको विहे
लाप्राकमा मकैको विहे
गोरखा ः धार्चे गाउँपालिका ४ लाप्राकमा शनिबार धुमधामका साथ मकैको विहे भएको छ ।
यहाँको मुख्य खाद्य वालीको रुपमा रहेको मकैको उब्जनी राम्रो होस् तथा असिना, रोग नलागोस भनेर परम्परादेखि नै यहाँ मकैको विहे गर्ने प्रचलन छ ।
शनिबार स्थानीयहरु भेला भएर धुमधामका साथ मकैको विहे गरेका हुन् । ‘यो पुरानो परम्परा हो, यसरी मकैको विहे गरेपछि वल्ल मकै लगाउन शुरु हुन्छ,’ स्थानीय विस वहादुर गुरुङले भने ।
मकै लाप्राकमा उत्पादन हुने मुख्य बाली हो । यहाँ धान फल्ने खेत छैन । मकै छर्नुअघि उब्जनी राम्रो होस भनेर मकैको विहे गर्ने पुरानो प्रचलन रहेको बिसवहादुरले बताए ।
बाबुबाजे पालादेखिको यो चलनलाई अहिले पनि यहाँ निरन्तरता दिइएको उनले बताए । मकैको विहेको अघिल्लो दिन गाउँमा बारना हुन्छ । वारनाको वेला ढिकी झातो चलाउन हुदैन भन्ने प्रचलन छ ।
शनिबार वाजागाजा सहित गाउँ परिक्रमा गरेर साँझ घाटु नाचेपछि यस वर्षको मकैको विहे सकिएको छ । बेहुलासहित जन्तीहरू बेहुलीको घर पुगेपछि केहीबेर नाचगान चल्ने गर्छ । मकै बिहे धर्ति पूजाको एक रूपमा लिइन्छ ।
विउको रुपमा प्रयोग हुने केहि मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ । मकै छर्ने आसपास हुने पूजा भएकाले पनि यसलाई मकै बिहे भनिएको गुरुङले बताए ।
मकैको विहेको दिन शनिबार साँझपख घाटु नाच्ने र एकैठाउँ भेला भएर भोजभतेर खाएर यस वर्षको मकैको विहे सम्पन्न भएको छ । लाप्राकमा मात्र होइन, धार्चेका गुम्दा, सिङ्ला, लप्सीबोट, लापुमा पनि मकै बिहे गर्ने चलन छ ।
मकैको विहे पछि मकै छर्ने गरिन्छ । लाप्राक लगायतका धार्चे क्षेत्रका किसान यतिखेर मकै छर्ने तयारीमा छन् । मुख्य खाद्यवालीको रुपमा रहेको मकै छर्नका लागि अव यस क्षेत्रका किसान खेतीवारीमा ब्यस्त बन्नेछन् ।