शालिन मृत्यु प्रकरणको घटनालाई अतिरञ्जित गर्ने खालका पोष्ट नगर्न आग्रह
शालिन मृत्यु प्रकरणको घटनालाई अतिरञ्जित गर्ने खालका पोष्ट नगर्न आग्रह
गोरखा ः अजिरकोट गाउँपालिकाले शालिन पोखरेलको मृत्यु सम्बन्धी घटनामा अतिरञ्जित गराउने खालका पोष्ट नगर्न र सामाजिक सद्भाव कायम गर्न सवैमा अपिल गरेको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै पालिकाले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र पीडित परिवारलाई न्यायको लागि पहलकदमी लिन प्रतिबद्ध रहेको जनाएको हो । साथै यो गम्भीर विषयमा सम्बन्धित निकायलाई निष्पक्ष ढंगले अनुसन्धानको लागि पनि गाउँपालिकाले अनुरोध गरेको छ ।
अजिरकोट गाउँपालिका स्थायी ठेगाना भएकी १४ वर्षीय बालिका शालिन पोखरेल गत फागुन १२ गते चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० मा रहेको एकता शिशु निकेतन बोर्डिङको होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको झुण्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्ट आएको छ ।
गम्भीर छानबिन गर्न समितिको निर्देशन प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको अझ प्रभावकारी रुपमा शीघ्र छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिएको हो ।
समितिका सभापति भानुभक्त जोशीले बालिका मृत्युबारे सरकारले गृहमन्त्रालयमार्फत छानबिन गरिरहेको जानकारी आएको भन्दै अझै गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिने निर्णय भएको बताए ।