‘गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ?’
‘गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ?’
सुरुबात ः प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी सांसद कमला पन्तले गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिबद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई आग्रह गरेकी छन् ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै उनले सो उद्योग सञ्चालनमा ल्याउन आफैंले गरेको प्रतिबद्धता कहिले पूरा हुन्छ भनी प्रधानमन्त्री दाहाललाई प्रश्न गरेकी छन् ।
प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोरखामा रहेको सो उद्योग हाल सञ्चालनमा नआएकाले त्यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने सांसद पन्तको भनाइ थियो ।
उद्योग गण्डकी प्रदेशकै गौरव भएकाले पनि त्यसको सञ्चालनमा सरकारले ढिलाइ गर्न नहुने उनले बताइन् । ‘गोरखामा एउटा अत्यन्त गौरब गर्न लायक गोरखकाली रबर उद्योग थियो ।
२०७१ सालसम्म यसले उत्पादन दिएको थियो । कुन सरकारले कति ग¥यो, म त्यतातिर जान्न । तर यो उद्योग किन सञ्चालनमा आएन भन्नेतिर म जाँदैछु ।
प्रधानमन्त्रीले हरेक ठाउँमा गोरखाकाली रबर उद्योग म चलाउँछु भनेर भाषण गरेर आउनुभएको थियो,’ उनले भनिन्, ‘बोल्न मात्रै हो भने प्रधानमन्त्रीज्यूलाई मेरो भन्नु केही छैन । तर बोलेको कुरा पूरा गर्ने हो भने अब कति महिनामा यो उद्योग सञ्चालन गर्छु भन्नुहुन्छ ? त्यसको जवाफ पनि खोजेको छु ।’