नेपाली सेनाले गर्याे रेडियो मनासलुलाई सम्मान
नेपाली सेनाले गर्याे रेडियो मनासलुलाई सम्मान
गोरखा : गोरखा जिल्लाको उत्कृष्ट सामुदायिक रेडियोका रूपमा परिचित रेडियो मनास्लु १०३.९ मेगाहर्जलाई नेपाली सेनाले सम्मान गरेको छ। नेपाली सेनाको २६३ औँ वार्षिकोत्सवको अवसरमा देशभरका रेडियोहरूमध्ये दुई वटा रेडियोलाई सम्मान गर्ने क्रममा गोरखाको सामुदायिक रेडियो मनास्लु छनोटमा परेको नेपाली सेनाले जनाएको छ।
विगत १४ वर्षदेखि रेडियो मनास्लुले निरन्तर रूपमा नेपाली सैनिक कार्यक्रम प्रसारण गर्दै आएको योगदानको कदर गर्दै सेनाले रेडियोलाई कदरपत्रसहित सम्मान गरेको हो।
प्रधानसेनापति महारथी ले शिवरात्रि पर्वको अवसरमा काठमाडौँको टुँडिखेलमा आइतबार आयोजित विशेष समारोहमा उक्त कदरपत्र प्रदान गर्नुभएको हो। रेडियोका व्यवस्थापक अमृत श्रेष्ठले उक्त कदरपत्र ग्रहण गर्नुभएको रेडियोका स्टेशन प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभयो
रेडियो मनास्लुलाई प्रदान गरिएको कदरपत्रमा लामो समयदेखि निःशुल्क रूपमा नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गरेर राष्ट्रिय स्तरको योगदान पुर्याएको र नेपाली सेनासँगको अविच्छिन्न सहकार्यको प्रशंसा गरिएको उल्लेख छ।
रेडियो मनास्लुले स्थापनाकालदेखि नै नेपाली सेनाका कार्यक्रमहरू नियमित रूपमा प्रसारण गर्दै नागरिक र सैनिकबीच समन्वय कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। देशभरका रेडियोहरूमध्ये छनोट भई प्राप्त यो सम्मानले रेडियो मनास्लुको प्रभाव, पहुँच र योगदानको उच्च मूल्यांकन भएको जनाइएको छ।
१८ वर्षभन्दा बढी समयदेखि गोरखा र आसपासका लाखौँ श्रोताहरूलाई समाचार, सूचना, मनोरञ्जन तथा विकाससम्बन्धी कार्यक्रमहरू प्रसारण गर्दै आएको रेडियो मनास्लु जिल्लाको विश्वसनीय सञ्चार माध्यमका रूपमा स्थापित छ।