योजनाहरुको समयमै सम्पन्न होस
योजनाहरुको समयमै सम्पन्न होस
पछिल्लो समय प्रदेश स्तरका योजनाहरुले पनि गति लिन थालेका छन् । गण्डकी प्रदेशबाट गोरखा हाल सन्चालनमा रहेका योजनाहरु मध्ये निवेलमा खानेपानीको एउटा योजना तीन महिनामै सम्पन्न भई मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रीले हस्तान्तरण गरे । योजनाहरु समयमै सक्नु सबैको लागि खुसीको कुरा हो ।
गोरखा जिल्लाले आर्थिक समृद्धि हासिल गर्ने हो भने हाल सन्चालनमा रहेका योजनाहरु समयमै सम्पन्न गर्न आवश्यक छ । जिल्लावासीहरुको जीवनस्तर उकास्न सबै भेगमा शिक्षा स्वास्थ्य, खानेपानी, यातयात, सडकको पूर्वाधार पु¥यानु सक्नु पर्छ । तर कमिशनमा विषयमा कुरा नमिल्दा कतिपय योजनाहरुको काम सुरु नै भएको छैन भने कतिपय काम विचमै रोकिएको अवस्था छ । ठेकेदारको लापरवाही, कर्मचारीहरुको मिलोमतोमा र सरोकारवालाको वेवास्ताका कारण जिल्ला भित्र धेरै योजनाहरु तोकिएको सम्झौता अवधिमा काम सम्पन्न भएको पाइदैन । शिक्षा, स्वास्थ्य, खानेपानी, सडकका योजनाहरु नै विकासमा मुख्य पूर्वाधार हो । तर यिनै योजनाहरु पटक पटक म्याद थप्ने बाहेक थप काम भएको पाइदैन । विकास निर्माण कार्यमा सम्बन्धी सरोकारवालाहरुको निगरानी र अनुगमन नहुनाले पनि कतिपय योजनाहरु अघि बढ्न नसकेको देखिन्छ । यसमा सबैको ध्यान जानु आवश्यक छ ।
अहिले जिल्ला भित्र स्थानीय, प्रदेश र संघ मातहातका धेरै योजना कार्यान्वयनको अवस्थामा छन् । विकास निर्माण कार्यमा व्यक्ति, पार्टी भन्दा माथि रहि सबैसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ । जसले गर्दा योजनाहरुको सफल कार्यान्वयनका साथै दिगो विकासमा समेत टेवा पुग्न जान्छ ।