‘राज्यले प्रथम शहिद थापाको उचित सम्मान गर्न सकेन’
‘राज्यले प्रथम शहिद थापाको उचित सम्मान गर्न सकेन’
केशव गुरुङ
नेपालका प्रथम शहिद लखन थापा मगरको राज्यले उचित सम्मान गर्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
प्रथम शहिद लखन थापा मगर स्मृति प्रतिष्ठान गोरखाको आयोजनामा वुधवार सदरमुकाममा आयोजित मगरको योगदान तथा हाल सम्मका उपलब्धी र आगामी कार्यदिशा सम्बन्धि छलफल कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् । राणा शासन विरुद्घ विद्रोह गर्ने थापालाई वुंकोटको काहुले भङ्गारमा राणाहरुले फाँसी दिएका थिए । प्रथम शहिद घोषणाका लागी वारम्वारको पहल पछि २०७२ असोज ३ गते को तत्कालिन मन्त्रीपरिषद वैठकले थापालाई नेपालकै पहिलो सहिद घोषणा गरेको थियो । यस अघि २०५६ सालको मन्त्रीपरिषद वैठकले थापालाई सहिद मात्र घोषणा गरेको थिए । कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रिय सदस्य कृष्ण रानाले थापाको नाम चार शहिदको स्थानमा पुग्न नसकेको बताए । सरकारी कार्यालयहरुमा शहिद लखन थापाको फोटो राख्ने प्रयास समेत नभएको भन्दै उनले दुखेसो पोखे । शहिद लखन थापा सँगै मारिएका उनका साथी जय सिं चुमी राना मगरलाई पनि शहिद घोषणा गर्न कार्यक्रमका सहभागीहरुले माग गरेका छन् । कार्यक्रममा बोल्दै गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले शहिद लखन थापालाई राष्टिूय विभूति घोषण गर्न सबै जातजातिहरु एकजुट भएर लाग्नु पर्ने बताए ।