समयमै काम सम्पन्न होस्
समयमै काम सम्पन्न होस्
जिल्लाका तीन सडक एक साथ स्तरोन्नती हुन लागेको छ । दुइ सडक कालोपत्रे र एक सडक गाव्रेलका लागी शिलन्यास पनि भइसक्यो । गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका जोड्ने गरी दरौदी नदिमाथि झोलुङ्ग पुल पनि निर्माण हुने भएको छ ।
करिव ७७ करोड खर्चेर हुन लागेको उक्त काम समयमै सम्पन्न हुन्छ वा हुदैन भन्ने दुविधा अझै छ । समयमै काम सम्पन्न भएर स्थानीयले सहज रुपमा आउजाउ गर्न पाउन् ।
तर ठेकेदारको लापरवाहीको पराकाष्ठ जिल्लामा पहिलै देखि छर्लङ्ग आएको छ । तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारको कमी छैन जिल्लामा । पुल निर्माण होस् वा सडक स्तरोन्नती तोकिएको समयमा बिरलै काम सकिएका छन् । गोरखा दरवार जस्तो ऐतिहासिक महत्वको सम्पदा पुननिर्माणमा समेत ठेकेदारले लापवाही गर्न छाडेका छैनन् ।
काम सक्नुपर्ने म्याद सम्पन्न हुन लाग्दा समेत कामको प्रगति न्यून छ । बाह्र किलो छेवेटार भालुस्वाँरा बारपाक सडकखण्ड कालोपत्रे कामको अवस्था उस्तै छ । समयमै काम नसक्ने निर्माण कम्पनीलाइ वारम्वार म्याद थप गर्दै प्रश्रय दिन नियमन निकाय अग्रसर नै देखिन्छ । यसले कतै ठेकेदार र निकाय बिच मिलेमतो त छैन ? भन्ने प्रश्न खडा गर्छ ।
त्यसैले हालसालै शिलन्यास भएका यी सडक स्तरोन्नतीको कामले तिव्रता पाउनुपर्छ । समयमै काम सम्पन्न गर्नका लागी ठेकेदारले जिम्मेवारीपूर्वक काममा लगाव देखाउनु त पर्छ नै नियमन निकायले पनि झकझक्याइ राख्नु आवश्यक छ ।
पछिल्लो समयमा कामको ठेक्का लिने तर काम नगर्ने पारीपाटीको विकास भएको देखिन्छ । यसमा सम्बन्धित निकाय र स्थानीयले ठेकेदार कम्पनीलाई सचेत गराउनु आवश्यक छ ।
कामको जिम्मा लिने ठेकेदार कम्पनीले पनि समयमै काम सक्ने पारीपाटीको विकास गर्नु जरुरी छ ।