लाप्राकलाई प्लाष्टिकमुक्त गाउँ बनाउने अभियान शुरु
लाप्राकलाई प्लाष्टिकमुक्त गाउँ बनाउने अभियान शुरु
धार्चे गाउँपालिका–४ लाप्राकलाई प्लाष्टिकमुक्त गाउँ बनाउन स्थानीयले अभियान थालेका छन् ।
धार्चे प्रगतिशिल महिला कृषक समूहले सोमबारबाट अभियान शुरु गरेका हुन् ।
पहिलो दिन गुप्सीपाखा देखि लाप्राकको पुरानो गाउँसम्म १५ ठाउँमा डस्विन राखिएको समूहकी सल्लाहकार उम्नी गुरुङले बताइन् ।
‘गुप्सी गेट, सानो रिन्जीलुङ, फ्याप्चे, मणिडाँडा र ठुलो आँगनमा १५ वटा फोहोर राख्ने डस्बिन राख्यौ,’ उनले भनिन्, ‘डस्बिन खरिदमा करिब २७ हजार खर्च भएको छ ।’ उक्त रकम देउसी भैलो र गाउँमा आएका पर्यटकबाट प्राप्त भएको उनले जानकारी दिइन् ।
बिभिन्न समूहमा बिभाजन भएर गाउँका बिभिन्न क्षेत्रको प्लाष्टिक संकलन सँगै सरसफाइ गरिएको उनको भनाइ छ ।
अभियान अन्तरगत समूहले प्रत्येक महिनाको १४ गते गाउँका विभिन्न ठाउँमा पुगेर सरसफाइका साथसाथै प्लाष्टिक संकलन गर्ने बताइएको छ ।
पर्यटन प्रवद्र्धनका लागी प्लाष्टिकमुक्त अभियान शुरु गरिएको समूहकी अध्यक्ष तिस माया गुरुङले बताइन् ।
‘प्लाष्टिकले गर्दा गाउँको सरसफाइमा पनि समस्या भयो, गाउँको सौन्दर्य नै बिग्रेको जस्तो लाग्यो त्यसैले यो अभियान चलाएका हौ,’ उनले भनिन् ।
समूहले विगत दुइ वर्ष देखि गाउँ घुम्न आएका पर्यटकहरुलाई लक्षित गरी स्वागत कार्यक्रम सँगै महिला कृषकका निम्ति विभिन्न कार्यहरु गर्दै आइरहेको छ । हाल समूहमा ३५ जना सदस्य छन् ।