विना लाइसेन्स सवारी चलाउनेलाई खै कारवाही
विना लाइसेन्स सवारी चलाउनेलाई खै कारवाही
जिल्लामा सवारी नियम उल्लघंन गर्नेको संख्या बढ्दो छ । विना लाइसेन्स सवारी चलाउनेमा सबैभन्दा बढी स्कुटर चालक नै छन् । प्रहरीको कमजोर उपस्थिती र हेलचक्रयाइका कारण सवारी नियम उल्लघंन गर्ने बढेका हुन् भन्दा फरक नपर्ला । यसले दुर्घटना जोखिम निम्त्याएको छ नै साथ साथै ट्राफिक प्रहरीलाइ पनि जिस्क्याइरहेको छ ।
जनसंख्या बृद्धि र ग्रामीण भेगमा सडक सञ्जालले जोडिएसँगै सवारी साधनहरु दिनप्रति दिन थपिदै छन् । मोटरसाइकल नहुने बिरलै होलान् । स्कुटरको संख्या पनि बढ्दो छ ।
भूकम्प पश्चात टिप्पर, ट्याक्टर र वोलेरोको संख्या पनि बढेकै छ । सवारीको संख्या बढेसँगै नियम उल्लघंन हुने क्रम पनि बढ्दो छ । जनशक्ति अभाव भन्दै पानी माथि ओभानो बन्न खोज्ने ट्राफिक सदरमुकाम आसपास विना लाइसेन्स सवारी चलाउनेलाइ कारवाही गर्न भने चुकेकै देखिन्छ ।
बिशेष गरी स्कुटर चालकमाथिको निगरानी कमै मात्रामा भएको देखिन्छ ।
नियमलाइ लत्याउदै मोटरसाइकल र स्कुटरमा तीन जना चढ्ने र हेलमेट विना सवारी चलाउने संख्याका पनि कम्ती छैन ।
चेकजाँचमा कडाइ गरी ट्राफिक नियम उल्लघंन गर्नेलाइ कानूनी दायरामा ल्याउनु जरुरी छ ।बजार केन्द्रित मात्र नभइ ग्रामिण भेग सम्म टूाफिकको पहुँच पुगोस् ।
नागरिक पनि आफू सचेत भएर ट्राफिक नियमको पालना गर्नुपर्छ ।