‘ई पाटी’ को माध्यमबाट पठनपाठन शुरु
‘ई पाटी’ को माध्यमबाट पठनपाठन शुरु
केशव गुरुङ
धार्चे गाउँपालिका–५ गुम्दा स्थित यामागाउँको जनसेवा आधारभूत विद्यालयले पठनपाठनका लागी ई पाटी (ल्यापटप जस्तै उपकरण) को प्रयोग शुरु गरेको छ ।
विद्यार्थीहरुको शैक्षिक स्तर सुधारका लागी ई पाटीको माध्यमबाट पढाउन शुरु गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय मा हाल एक देखि ४ कक्षा सम्म संचालनमा छ । कुल ४७ जना विद्यार्थी छन् ।
विद्यालयकी शिक्षिका शुसीला गुरुङका अनुसार २ देखि ४ कक्षा सम्मका विद्यार्थीहरुलाई इ पाटीको माध्यमबाट पढाउन शुरु गरिएको हो । ‘ई पाटी भनेको ल्यापटप जस्तै हो,’ उनले भनिन्, ‘अंग्रेजी, बिज्ञान, गणित र नेपालीका कोर्षहरु सबै त्यसमा समावेश भएका हुन्छन् ।’
आवश्यक चित्र र खेलहरु पनि समावेश हुने भएकाले ई पाटीको प्रयोग गरेर पठनपाठन गराउन निकै सहज भएको उनले बताइन् । बिद्यार्थीको रुची पनि बढेको उनको भनाइ छ । गुरुङले सँगै बिद्यालयका चार शिक्षकले ई पाटी सम्बन्धि काठमाण्डौमा एक हप्ते तालिम लिएका थिए ।
शिक्षामा नयाँ प्रविधिको प्रयोगका लागी र्इं पाटी बाट कक्षा संचालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर गुरुङले बताए ।
‘कितावमा भएका बिषयहरुको प्रश्न र उत्तर पनि त्यही हुदो रहेछ, नक्सा र चित्रहरु बढी हुनेभएकाले पनि बिद्यार्थीलाइ बुझाउन सजिलो हुन्छ भन्ने अपेक्षा गरेका छौ,’ उनले भने । गत असोज महिनाबाट ई पाटीको प्रयोग गरेको उनले जानकारी दिए ।
चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानको आर्थिक सहयोगमा विद्यालयलाइ १० वटा ई पाटी (ल्यापटक जस्तै उपकरण) सहयोग भएको छ ।
वडा अध्यक्ष तुल बहादुर गुरुङ र विव्यस अध्यक्षले विहीवार संयुक्त रुपमा उक्त उपकरणको उद्घाटन गरेका छन् । प्रविधि अनुसार विद्यार्थीहरुको सिकाइमा परिवर्तन ल्याउन तथा कम्युटरको माध्यमबाट पढाउन शुरु गरिएको वडा अध्यक्ष गुरुङले जानकारी दिए । तस्बिरः धने गुरुङ फेसबुकबाट

