सडक नपुग्दा सिङ्लावासीलाई समस्या
सडक नपुग्दा सिङ्लावासीलाई समस्या
केशव गुरुङ
धार्चे गाउँपालिका–५ सिङ्ला सडक सञ्जालले जोडिएको छैन । खच्चडबाट ढुवानी गर्नुपर्दा दैनिक उपभोग्य सामान महँगोमा उपभोग गर्न स्थानीय बाध्य छन् ।
स्थानीय उनमाया गुरुङका अनुसार एक प्याकेट नुनको ४० रुपैया तिर्नुपर्छ ।
ग्यास भरिएको सिलिण्डरलाई २२ सय रुपैया पर्ने उनी बताउछिन् । सदरमुकामका एक व्यापारी अनुसार एक प्याकेट नुनको मूल्य २० रुपैया र ग्यास भरिएको सिलिण्डरको १३ सय पर्छ । सिङला भन्दा लाप्राकमा सामानहरुको मूल्य आधा फरक पर्छ ।
‘लाप्राकसम्म सडक पुगेको छ, गाडीमा सामान ढुवानी हुदाँ सस्तो पर्छ,’ उनले भनिन्, ‘तर सिङलामा सडक पुगेको छैन, लाप्राकबाट खच्चड वा मान्छेले बोकेर सामान लानुपर्छ, त्यही भएर महँगो पर्छ ।’ सडक सञ्जाल जोडिएको भए सुपथ मूल्यमा सामान उपयोग गर्न पाइने उनले बताइन् । माछोखोलाबाट सिङला पुग्न चाडै हुने भएपनि ठाडो उकालोका कारण सामान ढुवानीमा समस्या हुने स्थानीयको गुनासो छ ।
‘माछाखोलाबाट ठाडै उकालो पर्छ, मान्छे मात्र होइन खच्चडलाइ पनि सामान बोकाएर त्यो बाटो लान सकिदैन, लाप्राक हुदै सामान ढुवानी गर्नुपर्छ,’ गुरुङले भने । सडक नभएकै कारण बिरामी पर्दा समस्या हुने गरेको स्थानीय प्रेम गुरुङले बताए ।
‘गाउँमा स्वास्थ्यचौकी त छ तर ठुलै इमरजेन्सी बिरामी भयो भने हेलिकोप्टर बोलाउनुपर्छ,’ उनले भने । गाउँमा सडक पुगे सहज हुने स्थानीयले बताएका छन् । सिङलामा करिव दुइ सय घरधुरी रहेका छन् ।