राष्ट्रिय कला संग्रहालयका सामग्रीहरुको फोटो प्रदर्शन गोरखामा(फोटो फिचर)
राष्ट्रिय कला संग्रहालयका सामग्रीहरुको फोटो प्रदर्शन गोरखामा(फोटो फिचर)
राष्ट्रिय कला संग्रहालय भक्तपुरमा रहेका सामग्रीहरुको फोटो प्रदर्शनी जिल्लामा सुरु भएको छ ।
गोरखा संग्रहालय परिसरमा सोमबारबाट सुरु भएको प्रदर्शनी बुधबारसम्म चल्नेछ । ‘विभिन्न विधाका परम्परागत कलाहरुसँग सम्बन्धित करिब चारहजार बस्तुहरु राष्ट्रिय कला संग्रहालयमा छन्,’ राष्ट्रिय कला संग्रहालय प्रमुख सरस्वती सिंहले भनिन्, ‘तिनीहरु मध्ये प्रदर्शनमा राखिएका केही बस्तुहरुको फोटो खिचेर यहाँ देखाउन ल्याएका हौ ।’
संग्रहालय आउन नसकेका र भ्यालीभन्दा बाहिर रहेका विद्यार्थीलाई लक्षित गरी प्रदर्शनी कार्यक्रम गरिएको उनले बताइन् ।
प्रत्यक वर्ष बाहिरी जिल्लामा दुईपटक फोटो प्रदर्शनी गर्दै आएको बताउँदै सिंहले भनिन्, ‘विगत आठ वर्षदेखि प्रत्यक वर्ष आˆनो जिल्लाभन्दा बाहिर गएर प्रदर्शन गर्दै आएका छौ, त्यही क्रमलाई निरन्तरता दिदै गोरखा आएका हौ ।’
विद्यालय र संग्रहालय गरी दुई ठाउँमा प्रदर्शनी गर्ने गरेको उनको भनाइ छ । राजा पृथ्वीनारायण शाह र भक्तपुरका राजा रणजित मल्लवीचको ऐतिहासिक सम्बन्ध रहेकाले पनि गोरखामा प्रदर्शनी राखिएको उनले जानकारी दिइन् ।
करिब १५० भन्दा बढी फोटोहरु प्रदर्शनमा राखिएका छन् । फोटो हेरेर इतिहासबारे ज्ञान हुने र शिक्षण सिकाइमा समेत सहयोग पुग्ने गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले बताए ।
‘आज मात्रै विभिन्न विद्यालयका तीन सयभन्दा बढी विद्यार्थीले अवलोकन गरे,’ उनले भने, ‘भोलि र पर्सिसम्म धेरैले अवलोकन गर्नेछन् ।’ निःशुल्क रुपमा प्रदर्शनीमा सहभागी हुन पाउने उनले जानकारी दिए ।







