उत्तरी क्षेत्रको दुई नाकामा मानिस आउजाउ गर्न रोक
उत्तरी क्षेत्रको दुई नाकामा मानिस आउजाउ गर्न रोक
कोरोना भाइरसको संक्रमण फैलन नदिन स्थानीय प्रशासनले सर्तकता अपनाएको छ ।
उत्तरी क्षेत्रको नाकामा मानिस आउजाउ गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । ‘उत्तरी क्षेत्रकोसिमा चीनसँग जोडिएको छ, चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण यता पनि आउन सक्छ,’ उनले भने, ‘त्यही संक्रमण नफैलिओस् भनेर केही दिनका लागी सामागाउँ र छेकम्पारको नाका बन्द गरेका हौ ।’ उनका अनुसार तिव्वतका मानिस नेपाल र नेपालका मानिस तिव्वत आउजाउ गर्न निषेध गरिएको छ ।
‘त्यो हाम्रो औपचारिक नाका नभएकाले समकक्षीसँग समन्वय गरेका छैनौ, स्थानीय तहसँग सँग समन्वय गरेर हामी आफैले नाकामा कडाइ गरेका हौ, तर चाइनाले पनि बोर्डरमा मानिसहरु आउजाउ गर्न टाइट गरिरहेको छ,’ उनले भने ।
कोही मानिस आउजाउ गरेको भेटिएमा स्वास्थ्य परिक्षण गरेर बाकी निर्णय गरिने उनको भनाइ छ ।
नाकामा मानिसको आउजाउ बन्द गर्न सिमाका प्रहरी युनिटलाइ पत्राचार गरिएको एसपी ओम प्रसाद अधिकारीले बताए । छेकम्पार, सामागाउँ र लार्के प्रहरी चौकीलाइ सोमवार पत्राचार गरिएको उनले जानकारी दिए ।
अन्य नाकाभन्दा छेकम्पार नाकामा मानिसको आउजाउ बढी हुने उनको भनाइ छ ।