बर्षाले कृषिमा निम्त्याएको क्षति ःकरिव २५ सय रोपनी क्षेत्रफलको धान खेती नष्ट
बर्षाले कृषिमा निम्त्याएको क्षति ःकरिव २५ सय रोपनी क्षेत्रफलको धान खेती नष्ट
केही दिन अघिको अविरल बर्षाका कारण जिल्लाको कृषि क्षेत्रमा समेत क्षति पुगेको छ ।
करिव २५ सय रोपनी क्षेत्रफलको धान खेती नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको हो ।‘अविरल बर्षाका कारण नदिमा आएको बाढीले धेरैजसो खेत वगर बनाएको छ,’ केन्द्रकी प्रमुख मनिता थापाले भनिन्, ‘अहिलेसम्म हामीलाई प्राप्त तथ्याङ्क यो हो तर क्षति विवरण अझै आउन बाँकी छ ।’
पालुङटार नगरपालिका–९ र गोरखा नगरपालिका–४ मा रहेका करिव ४ हजार कफिको विरुवा समेत नष्ट भएको उनले बताइन् । ‘धार्चे र बारपाक सुलिकोट गाउँपालिका गरी करिव ८० रोपनी क्षेत्रफलमा लगाइएको कोदो र मकै खेतिमा पनि क्षति पु¥याएको छ,’ उनले भनिन् ।
शहिद लखन गाउँपालिका रामशाहघाटमा रहेको हाट बजारको संरचनामा समेत क्षति पुगेको उनको भनाइ छ । ‘संरचनाको जगको केही अंश बगाएको रहेछ, त्यसले गर्दा अन्य टहराहरु जोखिममा छन्,’ उनले भने ।
अविरल बर्षाकै कारण ६ वटा कुलोमा समेत क्षति पुगेको उनले बताइन् । उनका अनुसार भीमसेन थापा र शहिद लखन गाउँपालिका तथा पालुङटार नगरपालिकामा रहेका स्थायी कुलोमा क्षति पुगेको हो ।
क्षतिको अन्य विवरण अझै आउन बाँकी रहेको उनले बताइन् । ‘स्थानीय सरकार र प्रशासनबाट पनि क्षति विवरण मगाएका छौ, विवरण आएपछि क्षतिपूर्तीका लागी गण्डकी प्रदेशको भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रलाय पठाउछौ,’ उनले भनिन् ।
क्षतिपूर्तीका लागी प्रहरी प्रशासन र स्थानीय तहबाट मुचुल्का उठाएर वडा वा स्थानीय तहको सिफारिस सहित कार्यालयमा बुझाउन पनि उनले आग्रह गरेकी छिन् । मन्त्रालयले क्षतिपूर्तीका लागी आवश्यक तयारी गरिरहेको उनले जानकारी दिइन् ।