स्वास्थ्य सुरक्षा अपनाउँदै लाप्राकमा हाट बजार
स्वास्थ्य सुरक्षा अपनाउँदै लाप्राकमा हाट बजार
धार्चे गाउँपालिका–४ लाप्राकमा हाट बजार शुरु भएको छ ।
स्थानीय स्तरमा उत्पादीत कृषि उपज र हस्तकलाको प्रवद्र्धन गर्ने उदेश्यले हाट शुरु गरिएको लाप्राक हाट बजार व्यवस्थापन समितिले जनाएको छ ।
‘यहाँ उत्पादन हुने खाद्यान्न, तरकारी, हस्तकलाका सामग्रीहरु बिक्री वितरण गर्ने र प्रवद्र्धन गर्ने उदेश्यले मेला शुरु गरेका हौ,’ समिति अध्यक्ष सन्त बहादुर गुरुङले भने, ‘अव हरेक महिनाको दुई पटक मेलाको आयोजना गर्छाै ।’
हाट बजारमा सिलाम, आलु, अदुवा, च्याउ देखि चोयाबाट बुनेको डोको लगायतका स्थानीय उत्पादिन वस्तु राखिएको उनले बताए । ‘कोभिड–१९ का कारण अहिले सुरक्षा मापदण्ड पालन गर्दै स्थानीयहरुले मात्र बजारमा किनमेल गर्ने मिल्ने व्यवस्था गरेको छौ,’ उनले भने, ‘पछि छिमेकी गाउँलाई समेत फाइदा पुग्ने गरी हाट बजार गर्ने योजना छ ।’
कोभिड–१९ नियन्त्रणमा आएपछि बाहिरका मानिसहरुले पनि हाटबजारमा आफ्नो सामानहरु बेच्नका लागी ल्याउन पाउने उनले जानकारी दिए ।
हाट बजारले स्थानीय स्तरमा उत्पादन हुने खाद्यान्न, तरकारी र हस्तकलाका साधनहरुको प्रचार प्रसारका साथै बजार प्रवद्र्धनमा समेत सहयोग पुग्ने वडा अध्यक्ष राज गुरुङबताउँछन् ।
स्थानीय उत्पादनले बजार नपाइरहेको अवस्थामा हाट बजारले सहयोग पुग्ने उनको भनाई छ ।
आगामी दिन थप पूर्वाधार निर्माण गरी हाट बजारलाई व्यवस्थित गरेर लैजाने उनले बताए । हाट बजारबाट स्थानीयको आयस्रोतमा पनि बृद्धि हुने अपेक्षा गरिएकोछ ।
लाप्राक हाट बजार व्यवस्थापन समितिको आयोजना, फेस नेपालको प्राविधि सहयोग वडा कार्यालयको समन्वय तथा पुर्णिमा पोजेक्टको आर्थिक सहयोगमा हाट बजार आयोजना गरिएको आयोजकले जनाएको छ ।