चुमनुब्रीमा बाहिरका मानिसलाई प्रवेश निषेध
चुमनुब्रीमा बाहिरका मानिसलाई प्रवेश निषेध
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चुमनुब्री गाउँपालिकाले बाहिरका आगन्तुकलाई प्रवेश निषेध गरेको छ ।
दशै तिहारको समयमा अनावश्यक भिडभाड हुने र बाहिरबाट अनावश्यक व्यक्तिहरु गाउँपालिका भित्रिदा संक्रमण पैmलिन सक्ने भन्दै गाउँपालिकाले उक्त निर्णय गरेको हो ।
पछिल्लो समयमा मनास्लु क्षेत्र भ्रमणका लागी आउने, व्यापारीक कामका लागि आउने कामदारहरु लगायत लाई अर्को निर्णय नभए सम्म जगत बजार माथि आउन बन्देज गर्ने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष कुमारी गुरुङद्धारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ ।
‘गाउँपालिकामा मान्छेलाई आउन बन्देज गरेका हौँ,’ सूचनामा भनिएको छ, ‘स्थानीय व्यक्तिहरु गाउँपालिका प्रवेश गर्दा अनिवार्य रुपमा कम्तीमा सात दिन होम क्वारेन्टिनमा बस्ने र सामाजिक तथा धार्मिक भिडभाडमा सहभागित नहुन भनेका छौ ।’
यदि काम विशेषले गाउँपालिका भन्दा बाहिरका व्यक्तिहरु गाउँपालिका क्षेत्र आउनु परेमा वडा अध्यक्ष तथा स्वास्थ्यकर्मीलाई जानकारी गराउन पनि गाउँपालिकाले अनुरोध गरेको छ ।
स्थानीय पसल तथा होटलहरुमा व्यापार गर्दा अनिवार्य रुपमा सामाजिक दुरी कायम गर्ने, सेनीटाइजरको प्रयोग गर्ने, मास्कको प्रयोग गर्न अनुरोध गरिएको छ ।