गोरखा दरवारमा घटस्थापना गर्दै राखियो जमरा
गोरखा दरवारमा घटस्थापना गर्दै राखियो जमरा
महान चाड वडा दशै शनिवारबाट शुरु भएको छ । दशैको पहिलो दिन घरघरमा घटस्थापना गरिएको छ ।
पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ११ बजेर ४६ मिनेटमा उत्तम साइत रहेको थियो । सोही साइतमा गोरखा दरवारमा पनि घटस्थापना गरिएको छ ।कालिका मन्दिरमा बडाइका साथ घट्ट स्थापना गरिएको दरवार हेरचाह अड्डा प्रमुख हरि भुषालले बताए । सँगै जमरा पनि राखिएको छ । कालिका मन्दिर र गोरखनाथ गुफामा विधिवत रुपमा दुइ पाथी जौ को बिज राखिएको उनले जानकारी दिए ।
शनिवार विहान विधिवत रुपमा भगवतीलाई कालिका मन्दिरको गर्भ गृहमा सारिएको छ ।
‘बिहान ५ बजेर ३५ मिनेटमा बडाईका साथ विधिवत रुपमा भगवतीलाइ कैलाश कोठाबाट कालिका मन्दिरको गर्भ गृहमा सा¥यौ,’ भुषालले भने ।
मूल दरवारको कैलाश कोठाबाट गर्भ गृहमा सवारी गराउनुपर्ने भएपनि दरवार पुननिर्माण भइरहेकाले भगवतीलाइ कालिका मन्दिरकै कैलाश कोठामा राखेका र त्यहीबाट शनिवार विहान गर्भ गृहमा सवारी गराएको उनले बताए ।
दशमीको दिन टिका सम्पन्न भएपछि भगवतीलाइ पुनः कैलाश कोठामा सारिने उनको भनाइ छ ।
शनिवारबाट दरवारमा नियमित वली शुरु भएको छ । ‘पञ्चमीसम्म दैनिक वलि चढाउछौ, बोका, रागो, भेडा, कुखुरा लगायतका पुशपंक्षीको वली हुन्छ,’ भुषालले भने, ‘तर यो बर्ष यति नै संख्या भन्ने एकिन भएको छैन ।’ घटस्थापनाबाट सप्तमी दिन सम्म कन्या खुवाउने प्रचलन समेत रहेको बताइएको छ । कोरोनाका कारण यस बर्ष सर्वसाधारणका लागी मन्दिर खुल्ला गरिएको छैन ।
सर्वसाधारणले ल्याएको पशुपंक्षीको बलि समेत नचढाइने अड्डा प्रमुख भुषाल बताउछन् । ‘अघिल्लो बर्ष घटस्थापनाका दिन एक हजार भन्दा बढी भक्तजन थिए तर अहिले कोरोनाका कारण भक्तजनलाइ पुजाआजामा रोक लगाएकाले सुनसान जस्तै भयो,’ उनले भने । दरवारका कर्मचारी, पुजारी र भित्रिया सुसारे वाहेकका अन्य व्यक्ति नभएको उनले बताए ।
प्रशासनसँग समन्वय गरी आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर फुलपाती लैजाने र भित्र्याउने व्यवस्था गर्ने उनको भनाइ छ ।