चिकित्सकमाथि हातपात भएको बिरोधमा आकस्मिक बाहेकका सेवा बन्द
चिकित्सकमाथि हातपात भएको बिरोधमा आकस्मिक बाहेकका सेवा बन्द
अनलाइनगोरखा न्यूज
चिकित्सक र स्वास्थ्यकर्मी माथि हातपात तथा दुव्र्यवहार भएको बिरोधमा गोरखा अस्पतालका चिकित्सकहरुले आकस्मिक वाहेकका अन्य सेवा नदिने भएका छन् ।
शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै आकस्मिक वाहेकका अन्य सेवामा आफूहरु सहभागी नहुने उनीहरुले बताएका हुन् । चिकित्सक र स्वास्थ्यकर्मी माथि हातपात तथा दुव्र्यवहार गर्नेलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।
‘अस्पतालको कार्यस्थलमै हामी माथि हातपात र दुव्र्यवहार हुनुले हाम्रो सुरक्षाको चुनौती थपिएको छ, तसर्थ स्वास्थ्यकर्मी माथि हातपात तथा दुव्र्यवहार गर्नेलाइ कानूनी दायरामा ल्याएर दोषी उपर अविलम्व कारवाही गर्न हामी प्रशासनसँग माग गर्दछौ,’ बिज्ञप्तिमा भनिएको छ । शनिवार अस्पतालमा सुत्केरी महिलाको सेवा प्रवाहको बिषयलाई लिएर सुत्केरी महिलाको आफन्त र चिकित्सक बिच विवाद भएको हो ।
गोरखा नगरपालिका–३ घलाङकी सुत्केरी महिलालाई भेट्न उनका श्रीमान देवेन्द्र जंग कुवँर पटक पटक प्रसुती वार्डमा आएपछि चिकित्सकले उनलाइ त्यसो नगर्न भनेका थिए । सोही क्रममा विवाद हुदाँ चिकित्सकमाथि हातपात भएको अस्पतालका एक चिकित्सकले बताएका छन् ।
‘भिडभाड धेरै नै थियो, विवाद भइरहेको बेला हात छोडेकै हुन्, कसले छोड्यो पहिचान भने भएन,’ उनले भने । सुत्केरी महिलाका श्रीमान कुवँरले भने चिकित्सकले आफूमाथि अभद्र व्यवहार गरेको बताए ।
‘म ढोका बाहिरै बाट हेरिरहेको थिए, एक्कासी डाक्टरले घरीघरी यताउता गरेर डिस्टव गर्न कस्ता कस्ता मान्छे आउछन् छ्या भन्नुभयो, मैले भित्र जान पाउदैनस् भन्नु म जान्न तर हजुरले यसरी भन्ने होइन मात्र भनेको थिए, तुरुन्त बिरामी लैजा भनेर डिस्चार्ज पेपर लेख्नुभयो,’ कुवँरले भने । आफूहरुले व्यवहार सच्याउन आग्रह गर्दा चिकित्सक नमानेको उनले बताए ।
घटनाको छानविन गरी कारवाही गर्न माग गर्दै अस्पताललाइ निवदेन बुझाएको उनले जानकारी दिए ।
चिकित्सकलाइ कारवाही गर्न नेविसंघको माग
गोरखा अस्पतालमा सुत्केरी महिला र कुरुवालाइ डां सन्दिप श्रेष्ठले दुव्र्यवहार गरेको भन्दै कारवाही गर्न नेपाल बिद्यार्थी संघ गोरखाले माग गरेको छ । शनिवार प्रेस बिज्ञप्ती जारी गर्दै कारवाही नगरे सशक्त आन्दोलन गर्ने नेविेसंघले चेतावनी दिएको छ ।