ट्राफिक कार्यालयको राजश्व घट्यो
ट्राफिक कार्यालयको राजश्व घट्यो
जिल्ला ट्राफिक कार्यालय गोरखाले चालु आर्थिक बर्षको पाँच महिनामा १३ लाख राजश्व संकलन गरेको छ ।
साउन देखि मंसिर महिनासम्म १३ लाख राजश्व संकलन भएको कार्यालयले जनाएको छ । गत आर्थिक बर्षको तुलनामा कम राजश्व उठेको जिल्ला ट्राफिक प्रमुख मित्रलाल ढकालले बताए ।‘गत आर्थिक बर्षको मंसिर मसान्तसम्म हामीले करिव २५ लाख राजश्व संकलन गरेका थियौ,’ उनले भने, ‘तर यो बर्ष १३ लाख मात्र उठेको छ ।’ कोभिड–१९ का कारण धेरै सवारी साधन नचल्दा राजश्व कम उठेको उनको भनाइ छ । ‘कोरोनाले गर्दा धेरै सवारी पनि गुडेनन्, फेरी यात्रु पनि कम हुदा सवारी पनि कम चल्यो,’ उनले भने ।
चालु आवको मंसिर महिनासम्म सवारी नियम उल्लघंन गर्ने २ हजार ५० सवारी साधन कारवाहीमा परेको उनले बताए । उनका अनुसार सबै भन्दा धेरै मोटरसाइकल चालक कारवाहीमा परेका छन् । उनीहरुबाट मात्रै ४ लाख ७५ हजार राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
ट्रक÷टिपर कारवाहीबाट एक लाख ८६ हजार, बसबाट एक लाख ७६ हजार र ट्याक्टरबाट २ लाख ७० हजार राजश्व संकलन भएको कार्यालय प्रमुख ढकालले बताए ।
चालु आवको मंसिर मसान्तसम्म जिल्लामा पाँच वटा सवारी साधन दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने ७ जना गम्भिर घाइते भएका छन् ।
चालु आवको तुलनामा गत आव दुर्घटना संख्यामा कमी भएको बताइएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि विद्यालय, समुदायमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको कार्यालयले जनाएको छ ।