बिरिञ्चोक सामुदायिक होम स्टेको भवन शिलन्यास
बिरिञ्चोक सामुदायिक होम स्टेको भवन शिलन्यास
गोरखा नगरपालिका–१० स्थित बिरिञ्चोक सामुदायिक होम स्टेको भवन बन्ने भएको छ ।
निर्माण हुन लागेको भवनको वुधवार नगर प्रमुख राजनराज पन्तले शिलन्यास गरेका छन् ।भवन निर्माणका लागी गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले दश लाख रकम विनियोजन गरेको होम स्टे संचालक समितिकी अध्यक्ष सम्झना रानाले बताइन् । तारा गाउँ बिकासबाट पनि भवन निर्माणका लागी ६ लाख रकम प्राप्त भएको उनले जानकारी दिइन् ।
भवन निर्माणका लागी स्थानीय रत्न बहादुर रानाका परिवारले निशुल्क जग्गा उपलब्ध गराएका हुन् । भवन निर्माण भएसँगै आफ्नो संस्कृति झल्कने कार्यक्रमहरु गर्न सहज हुने अपेक्षा गरिएको छ ।
गत असोज ६ गतेबाट औपचारिक रुपमा शुरु भएको होम स्टे सेवा कोभिड–१९ का कारण बन्द रहेको थियो । केही दिनअघिबाट पुनः सेवा शुरु गरिएको अध्यक्ष रानाले बताइन् ।
उनका अनुसार हाल १९ घरधुरीमा होम स्टे संचालन गरिएको छ । एक पटकमा १०० जना सम्म पाहुना राख्न सक्ने उनले बताइन् ।
अन्य घरधुरीहरुलाइ पनि समावेश गराउने तयारी भइरहेको उनको भनाइ छ । पाहुनाका लागी बिशेष प्याकेजको व्यवस्था रहेको बताइएको छ । होमस्टेमा संकलित रकम मध्य १० प्रतिशत कार्यालय र केही प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने रानाले बताइन्