गोरखा आइपुग्यो मानव सेवा आश्रमको ‘मेची महाकाली यात्रा’
गोरखा आइपुग्यो मानव सेवा आश्रमको ‘मेची महाकाली यात्रा’
‘मेची महाकाली यात्रा’ मा निस्किएको मानव सेवा आश्रमको टोली आइतवार जिल्ला सदरमुकाम आइपुगेको छ ।
टोलीलाई गोरखा नगरपालिकाले एक कार्यक्रमका बिच स्वागत तथा अभिनन्दन गरेको छ ।आश्रमका अध्यक्ष रामजी अधिकारीको नेतृत्वमा यही पुष ७ गते मेचीको काकडभिट्टाबाट यात्रा शुरु भएको हो । उक्त यात्रा महाकालीको महेन्द्रनगर पुगेर टुङ्गिने अधिकारीले बताए ।
यात्राको क्रममा सडकमा भेटिएका अनाथ, अशक्त र वेसहाराहरुलाइ उद्धार गरेर आश्रममा राखिने उनले जानकारी दिए ।
‘सडकमा रात कटाउनेहरु लाइ पुष माघको जाडोमा निकै कष्टकर हुने भएकाले उनीहरुको उद्धारका लागी तीनै तहका सरकारलाई पनि जिम्मेवार बनाउन यात्राले सहयोग पुग्ने अपेक्षा गरेका छौ,’ उनले भने ।
गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको अध्यक्षतामा भएको स्वागत तथा अभिनन्दन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख जनुका अधिकारी, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, मानव सेवा आश्रम गोरखाका अभिभावक ईश्वरकाजी मास्के, पत्रकार कैलाशबावु श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका अध्यक्ष अधिकारीले हालसम्म आश्रमले पाँच हजार भन्दा बढी सडक मानवलाइ उद्धार गरिसकेको बताए ।
उनीहरुमध्य १५ सय भन्दा बढीको पारिवारीक पुनःमिलन गराउन सफल भएको उनले जानकारी दिए । हाल आश्रममा १३ सय भन्दा बढी मानिस आश्रीत रहेको उनको भनाइ छ । सडक मानव मुक्त गराउने लक्ष्य रहेको उनले बताए ।
यात्राको क्रममा गोरखा आइपुगेका मानव सेवा आश्रमका टोलीलाइ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गोरखाले २० थान ब्ल्याङकेट सहयोग गरेको छ ।
रेडक्रस जिल्ला सभापति भगवानबाबु मास्केले आश्रमका अध्यक्ष अधिकारीलाइ आइतवार ब्ल्याङकेट हस्तान्तरण गरेका हुन् । यात्रामा रहेको टोलीले आइतवार पालुङटार नगरपालिका वडा नम्वर ६ बस्ने बर्ष ४० का शिव घिमिरेलाइ उद्धार गरेको छ । उनी केही समय यता सडकमा खाने बस्ने गर्दै आएका थिए । उद्धार गरेर उनलाइ मानव सेवा आश्रम लम्जुङ्ग लगिएको बताइएको छ ।