विविध कार्यक्रम गरी मनाइयो २९९ औ पृथ्वी जयन्ती (फोटो फिचर सहित )
विविध कार्यक्रम गरी मनाइयो २९९ औ पृथ्वी जयन्ती (फोटो फिचर सहित )
२९९ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सोमवार जिल्लामा विविध कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र गोरखा नगरपालिकाले छुट्टाछुट्टै कार्यक्रम गरेका छन् । कार्यक्रम छुट्टै भएपनि कार्यक्रम स्थल भने गोरखा संग्रहालय परिसर रहेको थियो ।
राप्रपाको आयोजनमा भएको कार्यक्रममा पार्टी अध्यक्ष कमल थापा उपस्थित थिए । उनले संग्रहालय परिसरमा रहेको पुथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरे । राप्रपाकै आयोजनामा सदरमुकाममा ¥याली समेत निकालिएको थियो । उक्त ¥याली संग्रहालय परिसर पुगेर कार्यक्रममा परिणत भएको थियो ।
गोरखा नगरपालिकाले तीन दिवसिय कार्यक्रमको आयोजना गरी दिवस मनायो । दिवको पूर्व सन्ध्यामा नगर क्षेत्रमा सरसफाइ गरेको नगरपालिकाले सोमवार बिभिन्न कार्यक्रम गरेको छ । नगरपालिकाको आयोजनामा झाँकी सहितको ¥याली निकालिएको छ । हरमटारीबाट निकालिएको ¥याली बिसौनी, बसपार्क हुदै गोरखा संग्रहालय परिसर पुगेर कार्यक्रममा परिणत भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अशोक कुमार गुरुङ, गोरखा नगर प्रमुख राजनराज पन्त, कांग्रेसका नगर सभापति चन्दनबाबु खत्री, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष नारायण खत्री, पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जिवनज्योती श्रेष्ठ लगायतले धारणा राखेका थिए ।
उनीहरुले राष्ट्र एकीकरणमा पृथ्वी नारायण शाहको योगदानको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा इतिहासविद प्राध्यापक डा. राजाराम सुवेदीले नेपाल एकीकरण र जनसहभागीता नामक कार्यपत्र प्रस्तुत गरेका छन् । संग्रहालय परिसरमा रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । आज नगर क्षेत्रको अन्तरमावि स्तरिय वक्त्तृत्वकला प्रतियोगीता हुने नगरपालिकाले जनाएको छ ।
खुल्ला दौड प्रतियोगीता
दिवसकै अवसरमा सोमवार बिहान खुल्ला दौड प्रतियोगीता भएको छ । गोरखा नगरपालिका र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको दौडको उपाधी नेपाली सेनाका रामजी बस्नेतले हात परेका छन् । रणसिंह दल गणमा कार्यरत उनले निर्धारित दुरी २३ मिनेट २५ सेकेण्डमा पार गरेका थिए । निर्धारित दुरी नेपाली सेनाकै सुनिल थापा उपबिजेता बनेका छन् ।
प्रतियोगीतामा पूर्णबहादुर गुरुङले तेस्रो, नेपाली सेनाका सुरज योगीले चौथो र सुमन मगरले पाँचौ स्थान हासिल गरेको क्लबका अध्यक्ष सुमन गुरुङले बताए । दौडेर राजा भएका द्रव्य शाहाले राज्याभिषेक गरेको ऐतिहासिक पस्लाङ चौताराबाट सुरु भएको दौड सतिपिपल, पाटेचौर, हरमटारी चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपीचोक देखि पदेली हुदै गोरखा संग्राहालय अगाडी आएर टुङ्गिएको थियो ।
त्यस्तै महिला खुल्ला दौड प्रतियोगीताको उपाधी गोरखा नगरपालिका सिमलगैरीकी पबित्रा बयलकोटीले जितेकी छिन् । उनले निर्धारित दुरी ३२ मिनेट ८ सेकेण्डमा पार गरेकी थिइन् । निर्धारित दुरी ३२ मिनेट १९ सेकेण्डमा पुरा गर्दै नेपाली सेनाकी सिर्जना पौडेल उपबिजेता बनेकी छिन् । प्रतियोगीतामा रिना श्रेष्ठ तेस्रो र संगिता रानाभाटले चौथो स्थान हासिल गरेको क्लबले जनाएको छ ।
दही वितरण
दिवसको अवसर पारेर जिल्लामा दही वितरणको फरक कार्यक्रम सुरुवात गरिएको छ । इतिहास जर्गेनाका लागी भन्दै सोमवारबाट कार्यक्रमको थालनी गरिएको कार्यक्रम संयोजक डा. सन्दिप गोर्खालीले बताए । बिहान करिव ८ बजे विधिवत पूजा गरी गोरखनाथलाइ चढाएको दही गोरखा दरवार आएका भक्तजनहरु लाइ प्रसाद स्वरुप वितरण गरिएको उनले जानकारी दिए ।
‘गोरखनाथले पृथ्वी नारायण शाहलाइ दिएको जुठो दही हात थापेर खाने क्रममा पोखिएर खुट्टामा परेको र गोरखनाथले यो खुट्टाले जहाँ टेक्छौ त्यहा बिजयी प्राप्त गर्छाै भनेर आशिर्वाद दिएकाले राज्य एकीकरणमा पृथ्वी नारायण शाह सफल भएको इतिहास छ,’ उनले भने, ‘त्यही इतिहासको सम्झना स्वरुप आजबाट दही वितरणको कार्य सुरुवात गरेका हौ ।’
स्थानीय नागरिकको अगुवाइमा भएको उक्त कार्यक्रमलाइ अबका बर्षहरुमा निरन्तरता दिने उनले बताए । गुरु गोरखानाथको चरणमा दही चढाइ मनोकामना र काम सिद्ध हुने पुरानो धार्मिक आस्थाको जगेर्ना गर्दै दही चढाउने प्रचलन शुरु गरिएको उनको भनाइ छ । इतिहास जर्गेनाका लागी कार्यक्रमले सहयोग पुग्ने गोरखनाथ मन्दिरका पुजारी प्रदिप योगी बताउछन् । ‘गोरखनाथले पृथ्वी नारायण शाहलाइ दिएको दहीबाट शक्ति प्रदान भएर उनलाइ राज्य एकीकरण गर्न सहज भएको भन्ने इतिहास छ,’ उनले भने, ‘त्यही इतिहासको जर्गेनाका लागी यो कार्यक्रमले सहयोग पुग्छ भन्ने अपेक्षा छ ।’
काठमाण्डौ–गोरखा साइकल यात्रा
दिवसकै अवसर पारेर काठमाण्डौँ देखि गोरखासम्म साईकल यात्रा भएको छ । १५ देखि २० जना युवाहरु साईकल यात्रा गर्दै गोरखा आएका हुन् । काठमाण्डौँको ‘एस द हिमालय’ को ब्यवस्थापन र पञ्च अष्ट नारायण साईकलको प्राविधिक सहयोगमा उनीहरु गोरखा नगरपालिकाको आयोजनामा भएको ¥यालीमा सहभागी भएका हुन् । धार्मिक, ऐतिहासिक क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि साईकल यात्रा गरिएको बताइएको छ ।
पाँच स्थानीय तहमा सार्वजनिक बिदा
दिवसको अवसरमा जिल्लाका पाँच वटा स्थानीय तहले सोमवार सार्वजनिक बिदा दिएका थिए । गोरखा र पालुङटार नगरपालिका, अजिरकोट, भीमसेन थापा र सिरानचोक गाउँपालिकाले बिदा दिएका हुन् ।
२९९ औ पृथ्वी जयन्ती दिवसको अवसर पारेर गोरखा संग्रहालय परिसरमा दिप प्रज्वलन गरिएको छ । नेपाल पत्रकार महासंघ गोरखाको संयोजन र गोरखा नगरपालिकाको आयोजनामा सोमवार साँझ पृथ्वी नारायण शाहको शालिक परिसरमा दिप प्रज्वलन गरिएको हो ।




