कोरोना बिरुद्धको खोप ः कार्यालयको लक्ष्य पूरा भएन
६ सय बढीले खोप लगाएनन्
कोरोना बिरुद्धको खोप ः कार्यालयको लक्ष्य पूरा भएन
बिकास मरहट्टा
कोरोना भाइरस बिरुद्ध पहिलो चरणको खोप अभियान आइतवार सकिएको छ ।
पाँच दिनसम्म चलेको अभियानमा १ हजार ५० जनाले खोप लगाए । पहिलो चरणमा १६ सय भन्दा बढीलाइ खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालयको थियो ।
तर लक्ष्य अनुसार खोप लगाउनेको संख्यामा कमी भएको कार्यालयले जनाएको छ । कोभिड–१९ रोकथामका लागी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविका, एम्वुलेन्स चालक, कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा संलग्न सुरक्षाकर्मी, निजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरुलाइ लक्षित गरी पहिलो चरणको खोप अभियान संचालन गरिएको हो ।
तर सूचिमा परेकामध्य ६ सय बढीले खोप लगाएनन् । बिभिन्न कारणले खोप लगाउनेको संख्या कम भएको कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपाने बताउछन् ।
‘गर्भवति, परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेका, बच्चालाइ दुध चुसाइरहेका, जटिल खालका रोगको औषधी सेवन गरिरहेकाहरुलाइ खोप नलगाउने भन्ने थियो,’ उनले भने, ‘केही स्वास्थ्यकर्मीको त्यो अवस्था भएकाले खोप लगाउने सूचिमा परेपनि लगाउनुभएन ।’
अस्पतालमा मात्र खोप केन्द्र स्थापना हुदाँ समस्या भएको उनले बताए । उनले थपे, ‘अस्पतालमा मात्र केन्द्र राख्दा दुर्गमबाट खोप लगाउन आउनलाई समस्या भयो, केही डराएर पनि आउनु भएन होला ।’ सूचना प्रवाहमा पनि कन्जुस्याँई भएको उनले स्वीकार गरे । दुइ हजार १० जनालाइ खोप लगाउन पुग्ने गरी पहिलो चरणमा २०१ भाइल खोप जिल्ला आएको थियो ।
लक्ष्य अनुसार मानिसहरु खोप लगाउन उपस्थित नभएपछि बाँकी रहेको खोप वृद्धाश्रममा बस्नेहरु र कारागारका कैदीवन्दी र त्यहा खटिने सुरक्षाकर्मीलाइ लगाउने तयारी भएको कार्यालयका सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।
‘मन्त्रालयबाट यही भनेर परिपत्र आएको छ, भोली जिल्ला कोभिडको समन्वय समितिको बैठकले निर्णय ग¥यो भने काम अघि बढाउछौ,’ उनले भने । आज बस्ने बैठकबाट स्वीकृत भए एक दिन पुनः अस्पतालमा खोप अभियान चलाइने उनले बताए ।