उत्तरी गोरखामा मनाइयो मकै विवाह
उत्तरी गोरखामा मनाइयो मकै विवाह
अघिल्ला बर्षजस्तै यसबर्ष पनि धार्चे गाउँपालिका–४ लाप्राकमा मकै विवाह भएको छ ।
स्थानीयले धुमधामका साथ शनिवार मकै विवाह मनाएका छन् ।
शनिवार विहानै स्थानीयहरु पुरानो गाउँमा भेला भएका थिए । ज्योतिषले निकालेको साइत अनुसार ठुलो आगनबाट वेहुला अन्माइएको थियो ।
‘बेहुला अन्माएपछि बेहुली लिनका लागी जन्ती बाजागाजा सहित फिसि पुग्यो,’ स्थानीय उम्नी गुरुङले भनिन्, ‘वैवाहिक काम सकेर वेहुली लिएर जन्ती फर्कियो ।’ बेहुलीको घर पुगेपछि जन्ती टोली र वेहुली टोली बिच केहीबेर नाचगान समेत चलेको उनले बताइन् । लाप्राकीको मुख्य खाद्यवालीको रुपमा रहेको मकै उब्जनी राम्रो होस् भनेर मकै विवाह गर्ने प्रचलन रहेको उनले जानकारी दिइन् ।
‘यो पुरानो परम्परा हो, गाउँमा मकै विवाह गरेर मात्र मकै वाली लगाउने प्रचलन छ, मकै वालीमा असिना तथा रोग नलागोस् भनेर यसो गरिन्छ । विहे नगरी मकै लगाउदा अशुभ हुन्छ भन्ने मान्यता छ,’ उनले भनिन् ।
मकै छर्नु अघि सबै अन्नको पूजा गर्ने चलन भएपनि मकै मुख्य बाली भएकाले यसको बिहे गर्ने चलन गरेको स्थानीय बताउँछन् ।
बेहुलीको घरबाट फर्कंदा एक÷एक मुठी मकैको बीउ लाने र घरको मकैको बिउमा मिसाउने प्रचलन रहेको गुरुङले बताइन् । गुरुङ जातिको बोन संस्कार अनुसार परम्परागत देखि मकै विवाह गर्ने चलन रहेको वडा अध्यक्ष राज गुरुङले बताए ।
‘यो एउटा प्राकृतिक पूजा हो, वर्षेनी माघ १५ देखि फागुन १५ को विच एक दिन साइत जुराएर पुजा हुन्छ,’ उनले भने । विहे नगरी मकै रोप्दा अशुभ हुने मान्यता स्थानीयको छ । उत्तरी गोरखाको लाप्राक, सिङला, गुम्दा लगायतका गाउँमा मकै विवाह गर्ने प्रचलन छ । तस्बिरःतुले गुरुङको फेसबुकबाट