शहीद तथा द्धन्द्धपीडित परिवार लक्षित तालिम : बाख्रापालनमा आकर्षण, च्याउ खेतीमा रुची देखिएन
शहीद तथा द्धन्द्धपीडित परिवार लक्षित तालिम : बाख्रापालनमा आकर्षण, च्याउ खेतीमा रुची देखिएन
गोरखा ः शहीद तथा द्धन्द्धपीडित परिवारलाइ लक्षित गरी जिल्लामा कृषि सम्बन्धी तालिम संचालन हुने भएको छ ।
कृषि ज्ञान केन्द्रबाट च्याउ र गोलभेडा खेती र भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रबाट बाख्रा पालन सम्बन्धी तालिम संचालन गर्न लागिएको हो । तालिममा सहभागीताका लागी दुवै कार्यालयले केही महिना अघि नै आवेदन माग गरिसकेका छन् । बाख्रा पालनका लागी २१ जनाको निवदेन परेको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले जनाएको छ । शहिद लखन गाउँपालिकाबाट धेरै निवदेन परेको कार्यालयका सूचना अधिकारी महेन्द्र पौडेलले बताए । ‘एक हप्ता तालिम दिने हो, करिव ६ लाख ७० हजार बजेट आएको छ,’ उनले भने । तालिमका लागी हालसम्म जम्मा आठ जनाले निवदेन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ६ जनाले गोलभेडा र बाँकी दुई जनाले च्याउ खेती तालिमका लागी निवेदन दिएको कार्यालय प्रमुख परशुराम अधिकारीले बताए । ‘निवेदन बुझाउने अवधि पनि थप्यौ तर धेरैको रुची देखिएन,’ उनले भने । एक हप्ता संचालन हुने उक्त तालिमका लागी १७ लाख १९ हजार रकम विनियोजन भएको उनले बताए । ‘फागुन महिनामा तालिम संचालन गर्ने भन्ने थियो तर निवेदन दिने कम भएकाले ढिलाइ भएको हो,’ उनले भने, ‘तनहूँ र गोरखालाइ एकै ठाउँमा राखेर तालिम संचालन गर्ने की भन्ने छ ।’ गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत तालिम संचालन गर्न लागिएको उनले बताए ।