वाग्ले वाहेक अन्य कर्मचारीले फिर्ता गरे जिससको ल्यापटप
वाग्ले वाहेक अन्य कर्मचारीले फिर्ता गरे जिससको ल्यापटप
गोरखा : साविकको जिल्ला बिकास समितिको ल्यापटप लगेका पाँच जना कर्मचारीमध्य चार जनाले फिर्ता गरेपनि एक जनाले अझै गरेका छैनन् ।
हाल गोरखा नगरपालिकामा कार्यरत बिमला वाग्लेले ल्यापटप फिर्ता नगरेको जिल्ला समन्वय समितिले जनाएको छ । साविकको जिल्ला बिकास समितिमा कार्यरत हुदाँ कार्यालय प्रयोजनका लागी उनीहरुलाई ल्यापटप उपलब्ध गराइएको थियो । तर स्थानीय तहमा समायोजन भएर गएको तीन बर्षमा पनि उनीहरुले ल्यापटप फिर्ता गरेका थिएनन् । ल्यापटप फिर्ता गर्न भन्दै जिससले उनीहरु कार्यरत सम्बन्धित स्थानीय तहमा बारम्वार पत्राचार गरेपनि उनीहरुले वेवास्ता गर्दै आएका थिए । लामो समयसम्म ल्यापटप फिर्ता नगरेको भन्दै केही संचार माध्यममा समाचार प्रकाशन भएपछि उनीहरुले ल्यापटप फिर्ता गरेका हुन् । हाल गोरखा नगरपालिकामा कार्यरत शोभा दवाडी प्रधान र जानुका कुवँर, पालुङटार नगरपालिकामा कार्यरत लालु गुरुङ र दिपेन्द्र अर्यालले ल्यापटप फिर्ता गरेको जिससका शाखा अधिकृत बिजय राज वाग्लेले बताए । ‘दवाडी र गुरुङले समाचार आएको एक/दुइ दिनमै ल्यापटप बुझाउनुभएको थियो,’ उनले भने, ‘अर्यालले चार/पाँच दिन अघि बुझाउनु भयो, कुवँरले हिजो बुझाउनुभएको हो,’ उनले भने । वाग्लेले भने अझैसम्म ल्यापटप नबुझाएको उनले जानकारी दिए ।
वाग्लेले आफूसँग कार्यालयको ल्यापटप रहेको स्वीकार गरेकी छिन् । तर फिर्ता गर्न भनेर आधिकारिक रुपमा जानकारी नआएको उनले बताइन् । ‘यो ल्यापटप फिर्ता गर्न भनेर मलाइ आधिकारिक रुपमा पत्र पनि आएको छैन, मलाइ फिर्ता गर्न भनेर जानकारी पनि गराएका छैनन्,’ उनले भनिन् । जिससले भने ल्यापटप फिर्ताका लागी सम्बन्धित स्थानीय तहमा पत्राचार गरेको बताउदै आएको छ ।