सडक बत्तिको ४० लाख बढी महशुल उठेन
सडक बत्तिको ४० लाख बढी महशुल उठेन
चैत्र २, गोरखा । गोरखा नगरपालिकामा जडित सडक बत्तिको महशुल वापत ४० लाख ७३ हजार रकम उठ्न बाँकी रहेको नेपाल बिद्युत प्राधिकरण गोरखा वितरण केन्द्रले जनाएको छ । ३२ लाख ८४ हजार महशुल रकम र ७ लाख ८९ हजार जरिवाना तिर्न बाँकी रहेको कार्यालयका अनिल कैनीले बताए ।
तर उक्त बत्ती नगरपालिकाको कुन कुन ठाउँमा जडान भएको थियो र महशुल कसले तिर्ने भन्ने बारे कार्यालय नै अनविज्ञ छ । ‘यो २०५६÷५७ साल देखिको बाँकी रकम हुनसक्छ, हाम्रो कार्यालयमा २०६४ सालबाट कम्प्युटरभमा इन्ट्री शुरु गरेका हौ,’ कार्यालयका कर्मचारी कैनीले भने, ‘नगर क्षेत्रको सडकमा बत्ति जडान भएकाले महशुल तिर्नका लागी नगरपालिकालाई पटक पटक पत्राचार पनि गरेका थियौ ।’ तर नगरपालिकाबाट केही प्रतिक्रिया नआएको उनले बताए ।
हाल उक्त वत्तिहरु नभएको समेत उनले जानकारी दिए । ‘अहिले ती बत्तिहरु पनि छैनन्, कुन कुन ठाउँमा बत्ति राखिएको थियो पनि एकिन छैन, बक्यौता रकम भने यति धेरै छ, कसरी उठाउने समस्या भएको छ,’ उनले भने ।