४३ ग्रामीण सडकलाई अस्थायी रुट कायम
४३ ग्रामीण सडकलाई अस्थायी रुट कायम
चैत, ४ गोरखा : जिल्लाका ४३ वटा ग्रामीण सडकलाई अस्थायी रुट कायम गरिएको छ ।
गत माघ १५ गते बसेको अस्थायी मार्ग तथा भाडा निर्धारण समितिको बैठकले ति सडकलाई अस्थायी रुट कायम गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी संयोजकत्वको समितिले सम्बन्धित पालिकाबाट प्राप्त सिफारिस समेतको आधारमा अस्थायी रुट कायम गर्ने निर्णय गरेको हो । जिल्ला सदरमुकामबाट विभिन्न ठाऊँमा बाटो निर्माण भै यातायातका साधन सञ्चालन हुँदै आएपनि समितिले रुट कायम भने गरेको थिएन । यातायात ब्यवसायीको माग, स्थानीय तहहरुको सिफारिस लगायतको आधारमा अस्थायी रुट कायम गरिएको समितिले जनाएको छ । गोरखा(आँबुखैरेनी सडक भने यसअघिनै स्थायी रुट कायम भएको छ । सोही सडकसँग जोडेर ४३ वटा सडकखण्डमा अस्थायी रुट कायम गरिएको हो ।
समितिले गोरखावजारबाट बुंकोट हुँदै विभिन्न गन्तब्य पुग्ने ९ वटा सडकखण्ड, गोरखा वजारबाट कोखे आहाले हुँदै सोतीसम्मको सडक, सदरमुकामबाट नारेश्वर निवेल सडकलाई अस्थायी रुट कायम गरेको छ । सदरमुकामबाटै जराङ, खान्चोक, महादेवटार, स्वाँराको खार्चोक, आरुपोखरी, धावा, आरुअर्वाङ, आरुघाट कल्लेरी हुँदै चुरुङसम्मको सडकलाई पनि अस्थायी रुट कायम गरिएको छ । यस्तै आरुघाटबाट बेनीघाट सडक र १२ किलोबाट वारपाक, हर्मी, भच्चेक लगायत १४ वटा सडकखण्डमा पनि अस्थायी रुट कायम गर्ने निर्णय समितिले गरेको छ । झ्याल्लाबाट मुच्चोक, कुसुण्डे हुँदै भच्चेकसम्मको सडक, नयाँपुल पौवाटार सडक, अँबुवा(बिर्दी–शेरा–पौवाटार सडक, मझुवाबाट देउरालीसम्मको सडक, आँबुखैरेनीबाट मनकामनासम्मको सडक, अँबुवा–ढाँडबारी मनकामना सडक र ९ किलोबाट मनकामना सम्मको सडकमा पनि अस्थायी रुट कायम गरिएको छ । अहिले अस्थायी रुट कायम भएका सडकमध्ये केहीलाई स्थायी रुट कायम गर्न सकिनेबारे पनि छलफल भइरहेको बताइएको छ ।