जथाभावी फोहर फाल्नेलाई कारवाही
जथाभावी फोहर फाल्नेलाई कारवाही
गोरखा चैत्र,१० नगर क्षेत्रको फोहरमैला व्यवस्थापनमा गोरखा नगरपालिका ले चासो देखाएको छ ।सातौ नगरसभाले पास गरेको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण बिधेयक(२०७७ मा जथाभावी फोहरमैला गर्नेलाइ कारवाही गर्ने व्यवस्था गरिएको छ ।
बिधेयक अनुसार घर, कम्पाउण्ड तथा परिसरको फोहरमैला सडक वा अन्यत्र सार्वजनिक स्थानामा राख्ने, फाल्ने वा थुपार्नेलाइ १५ हजार रुपैयासम्म जरिवाना गर्ने व्यवस्था रहेको बताइएको छ । फोहरमैला निस्केको दुषित पानी वा ढल चुहाई अन्य व्यक्तिको घर वा जग्गा प्रदुषित गराएमा र कार्यपालिकाले तोकिदिएको समय र स्थान बाहेक अन्यत्र फोहरमैला निष्काशन गरेमा पनि १५ हजार रुपैयासम्म जरिवाना गरिने प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।
फोहरमैला उठाउँदा लाग्ने खर्च समेत असुल उपर गरिने उनले जानकारी दिए । उनका अनुसार कण्टेनर वा संकलन केन्द्रमा राखिएको फोहरमैला अनाधिकृत तवरले प्रयोग गर्ने तथा फोहरमैला संकलन वा सफाइ गर्दाको समयमा सवारी साधन बिसाउनेलाइ पाँच हजार रुपैयासम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । ‘फोहरमैला संकलन केन्द्रमा राखिएको कण्टेनर तोडफोड गर्ने क्षति पु¥याउने, राखिएको स्थानबाट हटाउने वा संकलन केन्द्रमा नोक्सान पु¥याउनेलाइ ५० हजारसम्म जरिवाना गरी कण्टेनर वा संकलन केन्द्र व्यवस्थापन गर्न लाग्ने खर्च असुल उपर गर्न सकिने व्यवस्था रहेको छ,’ उनले भने ।
अनुमति नलिई फोहरमैला व्यवस्थापनको कार्य गरेमा पनि कारवाही गरिने छ । मरेको वा मारेको पशुपंक्षी र सोको लादी, प्वाँख, हड्डी तथा माछाको कत्ला आदि सार्वजनिक स्थलमा फाल्ने थुपार्ने गरेमा पनि कारवाही गरिने बताइएको छ । फोहरमैला संकलन, ढुवानी तथा व्यवस्थापनमा बाधा अवरोध गर्नेलाइ पनि कारवाही हुने नगरसभाबाट पारित गरिएको बिधेयकमा उल्लेख छ ।