१४ वटा मोटरेवल पुल निर्माण हुदैँ
१४ वटा मोटरेवल पुल निर्माण हुदैँ
गोरखा चैत्र,११ गण्डकी प्रदेश सरकार अन्तरगत जिल्लामा १४ वटा मोटरेवल पुल निर्माणको काम भइरहेको छ । केही अलपत्र अवस्थामा छन् भने केही सम्पन्न हुने तयारीमा रहेको पूर्वाधार बिकास कार्यालयले जनाएको छ । पालुङटार नगरपालिकाको बडहरे र लकान खोला, गोरखा नगरपालिका र शहिद लखन गाउँपालिका जोड्ने लुदी खोला, गण्डकी गाउँपालिकाको जुग्दे खोला र आरुघाट गाउँपालिकाको आर्खेत खोला माथि पुल निर्माण भइरहेको कार्यालय प्रमुख दयाराम अधिकारीले बताए ।
त्यस्तै गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका जोड्ने जरेवर खोला, पालुङटार र गोरखा नगरपालिका जोड्ने दरौदी नदी, सिरानचोक गाउँपालिका र गोरखा नगरपालिका जोड्ने दरौदी नदि, धार्चे गाउँपालिकाको रिन्चेत खोला र नौली खोला माथि पनि पुल निर्माण काम भइरहेको उनले जानकारी दिए । ‘आरुघाट गाउँपालिकाको डुन्डुरे खोला, लम्जुङको राइनास नगरपालिका र पालुङटार नगरपालिका जोड्ने चेपे नदी र बारपाक सुलिकोट गाउँपालिकाको मिलुङ खोला र जराङ खोला माथि पनि मोटरेवल पुल निर्माण हुदैछ,’ उनले भने ।
पालुङटार नगरपालिकाको बडहरे खोला र लगाम खोला सडक पुल तथा गोरखा नगरपालिका र शहिद लखन गाउँपालिका जोड्ने लुदी खोला पुल र गोरखा–पालुङटार जोड्ने दरौदी खोला पुल निर्माणको काम भने अलपत्र छन् । पटक पटक थप भएको म्यादमा पनि काम सम्पन्न नभएको उक्त पुल यो बर्ष भने सम्पन्न हुने कार्यालयले जनाएको छ । काममा लापरवाही गर्ने ठेकेदारलाइ जरिवाना समेत गरिएको कार्यालय प्रमुख अधिकारीले बताए । अन्य पुलहरुको काम भने सन्तोषजनक रहेको बताइएको छ ।