आइसोलेसन र क्वारेन्टिन स्थलको अवस्था के छ ?
आइसोलेसन र क्वारेन्टिन स्थलको अवस्था के छ ?
गोरखा चैत्र, १२ छिमेकी मुलुक भारत लगायतका देशमा कोभिड–१९ को संक्रमण पुनः बढ्न थालेसँगै नेपालमा पनि जोखिम थपिएको छ । सर्तकता अपनाउन भन्दै जिल्ला प्रशासनले मंगलवार सार्वजनिक सूचना समेत जारी गरिसक्यो । पहिले संचालन भएका क्वारेन्टिन र आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई प्रशासनको आग्रह छ । जिल्लामा यसअघि संचालन भएका क्वारेन्टिन र आइसोलेसन केन्द्रको अवस्था के छ त ?
स्वास्थ्य कार्यालयका अनुसार शैक्षिक संस्थामा संचालित अधिकांश क्वारेन्टिन स्थलहरु हटिसके । पठनपाठन शुरु भएसँगै शैक्षिक संस्थामा रहेका क्वारेन्टिन बन्द भएको कार्यालयका महामारी फोकल पर्सन नारायण बाबु अर्यालले बताए । बिभिन्न स्थानीय तहमा गरी हाल ७४ वेडको क्वारेन्टिन तयारी अवस्थामा रहेको उनले जानकारी दिए । गोरखा नगरपालिकाको रवर उद्योगमा ३६, पालुङटार नगरपालिका–५ को धर्मावती प्राविमा १८ र सिरानचोक गाउँपालिकाको नयाँसाघु सहकारी भवन र सामुदायिक प्रावि धन्सारमा १०÷१० वेडको क्वारेन्टिन तयारी अवस्थामा रहेको उनले बताए ।
त्यस्तै ५० वेड क्षमताको आइसोलेसन वेड तयारी अवस्थामा रहेको कार्यालयले जनाएको छ । आरुघाट गाउँपालिका–९ को भीमोदय क्याम्पसमा १५, गण्डकी गाउँपालिकाको मकैसिङ प्राथमिक स्वास्थ्य केन्द्रमा १० र सिरानचोक गाउँपालिका–८ जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा ५ वेडको आइसोलेसन तयारी अवस्थामा रहेको अर्यालले बताए । ‘पालुङटार नगरपालिका–४ मालतीगैरा स्थित सुदर्शन प्राविमा २० वेड क्षमताको आइसोलेसनको सामग्री छ, तर सुरक्षाको दृष्टिले भण्डारण गरेर राखिएको छ,’ उनले भने ।
आरुघाट, भीमसेन थापा, शहिद लखन, अजिरकोट र धार्चे गाउँपालिकामा ५÷५ वेडको कोभिड अस्पताल संचालनमा रहेको छ । आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र, भीमसेन थापाको अश्राङ, शहिद लखनको घैरुङ र अजिरकोटको भच्चेकमा कोभिड(१९ अस्थायी अस्पताल संचालनमा रहेको कार्यालयले जनाएको छ । धार्चेको माछाखोला र बारपाक सुलिकोट गाउँपालिकामा वेड तयार रहेपनि जनशक्ति नभएको बताइएको छ ।
खोपको अवस्था
जिल्लामा कोभिड–१९ बिरुद्धको दोस्रो चरणको खोप अभियान संचालन भइसक्यो । कार्यालयको तथ्याङ्क अनुसार हालसम्म कुल १९ हजार ८ शय ३१ जनाले खोप लगाए । २० हजार ८४ जनालाइ खोप लगाउने लक्ष्य कार्यालयको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, एम्वुलेन्स चालक, सरसफाइकर्मी, अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, सरकारी कार्यालय तथा ंसंघसंस्थाका कर्मचारी, कारागारका कैदीवन्दी र कर्मचारी, पत्रकार लगायतलाइ खोप लगाइएको थियो । दोस्रो चरणमा ६५ बर्ष माथिका जेष्ठ नागरिकले खोप पाए । सबै नागरिकलाइ खोप लगाउने लक्ष्य सरकारको रहेपनि अव थप खोप कहिले आउछ एकिन छैन । कार्यालय नै यसबारे अनविज्ञ छ । कार्यालयका खोप कोल्डचेन निरिक्षक ऋषिराम खत्रीले छिटै खोप आउने अश्वासन दिएका छन् । लक्षित वर्ग सरकारले निर्णय गर्ने बताइएको छ ।
फेरी लक डाउन होला त ?
कोरोना संक्रमणको जोखिम बढेसँगै फेरी लक डाउन हुन्छ की भन्ने धेरैलाइ लागेको छ । चिया गफ वा जमघटमा पनि लक डाउनको बिषयले स्थान पाउन थालेको छ । कोरोनाको प्रभाव सबैभन्दा पहिले ठुला शहरहरुमा देखिने भएकाले अन्य ठुला शहरहरुमा लक डाउन नभएसम्म गोरखामा तत्कालै लक डाउन नहोला भन्ने अनुमान गर्न सकिन्छ । तर सर्तकता अपनाइएन भने ठुला शहरमा जति संक्रमणको जोखिम बढी छ, जिल्लामा पनि त्यत्तिकै सम्भावना रहन्छ । कोभिड–१९ नियन्त्रणका लागी यसअघि सरकारले गरेको लक डाउनलाइ धेरैले सकारात्कम मानेका छैनन् । लक डाउनको बिकल्प खोज्नुपर्ने कतिपयको तर्क छ । गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेल तत्काल लक डाउन हुने सम्भावना कम रहेको बताउछन् । उनी भन्छन्, ‘अहिले तत्काल राज्य लकडाउनमा जाने जस्तो देखिन्न । संक्रमण दर बढ्दै जाने हो र भयावह हुन लाग्यो भने छुट्टै कुरा नत्र अहिलेलाइ लक डाउनको सम्भावना छैन । अहिले सावधानी अपनाउने, भिडभाडमा नजाने, मास्क लगाउने र आइसोलेसन र क्वारेन्टिन अपडेट गर्ने भन्ने सम्मको पोजिसन हो, लक डाउन गरेर पुरै ठप्प गरिहाल्नुपर्ने अवस्था तत्कालाइ देखिदैन ।’