मनकामना केवलकार डिजिटल प्रविधिमा स्तरोन्नती हुने
मनकामना केवलकार डिजिटल प्रविधिमा स्तरोन्नती हुने
गोरखा : मनकामना केवलकार डिजिटल प्रविधिबाट संचालन हुने भएको छ ।
केवलकारमा बिकास भएको पछिल्लो प्रविधि जाडन गर्न लागिएको केवलकार संचालक मनकामना दर्शन प्रालिले जनाएको छ । ‘अहिलेसम्म एनालग प्रविधिबाट संचालन हुदै आएको छ,’ प्रालिका नायव महाप्रवन्धक उज्वल शेरचनले भने, ‘अव डिजिटल प्रविधिमा स्तरोन्नती गर्छाै ।’ तीन चरणमा स्तरोन्नतीको काम हुने उनले बताए । ‘पहिलो चरणमा अति आवश्यक पाटपुर्जाहरु मर्मत र फेर्ने काम हुन्छ, दोस्रो चरणमा प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा थप पाटपुर्जा फेर्ने काम गर्छाै र तेस्रो चरणमा डिजिटल प्रविधिमा स्तरोन्नतीको बाँकी काम हुन्छ,’ उनले भने । केवलकारको लठ्ठा र संचार केवलहरु पनि फेरिने उनले जानकारी दिए ।
उनका अनुसार अर्काे साताबाट पहिलो चरणको काम शुरु हुने छ । माथिल्लो स्टेशनको मर्मत संहारको कामबाट सुरुवात गरिने शेरचनले बताए । स्तरोन्नतीका लागी सर्भेको काम सम्पन्न भइसकेको छ । दुई बर्षभित्र स्तरोन्नतीको काम सम्पन्न हुने बताइएको छ । ‘स्तरोन्नतीको समयमा केवलकार सेवा अवरुद्ध पनि हुन्छ, हामी सूचना प्रकाशित गरेर जानकारी गराउछौ,’ शेरचनले भने । नयाँ प्रविधिमा गएसँगै केवलकारको मर्मत संहार खर्चमा कमी आउने प्रालिले जनाएको छ ।
२०५५ साल मंसिर ८ गतेबाट बाट मनकामना केवलकारले बिधिवत रुपमा आफ्नो सेवा शुरु गरेको हो । हाल ३४ वटा डब्बाबाट सेवा संचालन भइरहेको शेरचनले बताए । ‘३१ वटा यात्रु बोक्ने डब्वा छन्, बाँकी तीन वटाले सामान बोक्छ,’ उनले भने । ३१ वटा डब्बाबाट सेवा शुरु गरिएको थियो ।