नियम बिपरित यात्रु बोक्ने नीजि सवारीलाई कारवाही गर्न माग
नियम बिपरित यात्रु बोक्ने नीजि सवारीलाई कारवाही गर्न माग
गोरखा चैत्र, २३ नियम विपरित यात्रु बोक्ने रातो प्लेटका सवारी साधनलाइ कारवाही गर्न माग गरिएको छ ।जिल्लामा ट्याक्सी सेवा संचालन गर्दै आएको गोरखा मनकामना यातायात सेवा प्रालिले कारवाहीका लागी ट्राफिक कार्यालयसँग माग गरेको हो ।
प्रालिले बिभिन्न ठाउँमा सेवा दिदै आएपनि नीजि कार तथा जिपले नियम विपरित व्यवसाय नै धरापमा पार्ने गरी भाडामा यात्रु ओसार पसार गरेको प्रालिले जनाएको छ । नियम विपरित भाडामा यात्रु बोक्ने नीजि सवारीलाइ कारवाही गर्न भन्दै प्रालिले जिल्ला ट्राफिक कार्यालयलाई निवदेन समेत बुझाएको छ । कारवाहीमा ट्राफिक कार्यालयले वेवास्ता गरेको गुनासो उनीहरुले गरेका छन् ।
‘नीजि सवारीहरु ठाउँठाउँमा यात्रु कुरेर बस्छन्, अनि भाडामा यात्रु बोक्छन्, ट्राफिकले भने वास्ता गर्दैन,’ प्रालिका एक पदाधिकारीले भने । ट्राफिक कार्यालयले भने चेकजाँचमा कडाइ गरिएको र नियम विपरित यात्रु ओसार्ने सवारी भेटेमा कारवाही गरिएको जनाएको छ । ‘हामी बिभिन्न ठाउँमा छड्के चेकजाँच गरिरहेका छौ, नियम विपरित यात्रु बोकेको निजी सवारीलाइ कारवाही पनि गरिरहेका छौ,’ जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले भने । नियम विपरित यात्रु बोकेको जानकारी भएमा ट्राफिकलाइ खवर गर्न पनि उनले आग्रह गरेका छन् ।