तीन हजार बढी भूकम्पपीडित प्रवलिकरणबाट पूर्ण लाभग्राही कायम
तीन हजार बढी भूकम्पपीडित प्रवलिकरणबाट पूर्ण लाभग्राही कायम
गोरखा जिल्लाका तीन हजार भन्दा बढि भूकम्पपीडित लाभग्राही प्रवलिकरणको सूचिबाट पूर्ण लाभग्राही कायम भएका छन् । राष्ट्रिय पुनर्निर्माणप्राधिकरणले जिल्लाका तीन हजार २ सय १४ लाभग्राहीलाई प्रवलिकरणबाट पुनर्निर्माण लाभग्राही कायम गरेको हो ।
प्राधिकरणको फागुन २८ र पुष १९ गतेको छुट्टाछुट्टै बैठकले जिल्लाका लाभग्राहीको गुनासो फर्छौट गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान ब्यबस्थापन तथा स्थानीय पुर्वाधार इकाई (जिमाली) ले जनाएको छ । जिल्लामा प्रवलीकरणका ५ हजार ७ सय ४४ लाभग्राहीमध्ये करीब ४ हजारले पुनर्निर्माण लाभग्राही कायम हुनका लागि आवेदन दिएका थिए ।
त्यसमध्ये हालसम्म तीन हजार २ सय १४ जनाको गुनासो फर्छौट भएको हो । प्राधिकरणमा केहि गुनासो फर्छौटकै प्रक्रियामा पनि रहेकाले संख्या थपिन सक्ने जिमालीले जनाएको छ । प्राधिकरणबाट प्राप्त विवरण अनुसार जिल्लामा सबैभन्दा धेरै गोरखा नगरपालिकाका लाभग्राही प्रवलीकरणबाट पुनर्निर्माण लाभग्राहीमा थपिएका छन् ।
गोरखा नगरपालिकाको ७ सय ११, पालुङटार नगरपालिकाको ५ सय ८०, आरुघाट गाउँपालिकाको १ सय ३३, अजिरकोट गाउँपालिकाको ४६ र भिमसेन थापा गाउँपालिका को १ सय ७० लाभग्राही प्रवलीकरणबाट पुनर्निर्माणमा परिवर्तन भएका हुन् । यस्तै चुमनुब्री गाउँपालिकाको २१, धार्चे गाउँपालिकाको ७३, गण्डकी गाउँपालिकाको २३४, शहिद लखन गाउँपालिकाको ५ सय ३८, सिरानचोक गाउँपालिकाको ६ सय २ र बारपाक सुलिकोट गाउँपालिकामा एक सय ४ लाभग्राही प्रवलिकरणबाट पुनर्निर्माण लाभग्राही कायम भएका हुन् ।
लाभग्राही परिवर्तन भएसँगै जिल्लामा पुनर्निर्माण लाभग्राहीको संख्या ७२ हजार ८ सय २५ कायम भएको छ भने प्रवलीकरण लाभग्राहीको संख्या दुई हजार ५ सय ३० मा झरेको छ । लाभग्राही परिवर्तन भएकाहरुले प्राविधिकसँग समन्वय गरेर संरचना निर्माण तथा किस्ता भुक्तानीका लागि प्रक्रिया सुरु गर्न सक्नेछन् । उनिहरुले प्रबलिकरण गरेर पनि घर बस्नयोग्य नहुने भन्दै पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन माग गरेका थिए ।
सरकारले भूकम्पले क्षति पुगेको घर प्रबलीकरणका लागि १ लाख र पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ अनुदान दिएको छ । एक लाख रुपैयाँ बुझिसकेका तर प्रवलिकरणबाट पुननिर्माणमा परिवर्तन भएका लाभग्राहीहरुले अब सुरक्षीत रुपमा भूकम्पप्रतिरोधी घर बनाएपछि थप २ लाख रुपैयाँ पाउनेछन् ।