शिक्षकलाई सम्मान, बिद्यार्थीलाई छात्रवृत्ति
शिक्षकलाई सम्मान, बिद्यार्थीलाई छात्रवृत्ति
गोरखा : नेपाल राष्ट्रिय शिक्षक संगठनको ४२ औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रमको अवसरमा सेवा निवृत्त शिक्षकहरु सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा अम्विका पोखरेल, भुरमण घिमिरे, विमल अधिकारी र चित्र बहादुर केसी रहेका छन् । उनीहरुलाइ दोसल्ला ओडाएर कदरपत्रले सम्मान गरिएको संगठनका जिल्ला सचिव सुदिप कट्टेलले बताए । दिवसकै अवसरमा गरिव तथा जेहेन्दार बिद्यार्थीलाइ छात्रवृत्ति वितरण गरिएको उनले जानकारी दिए । उनका अनुसार पाँच वटा विद्यालयका बिद्यार्थीहरुलाई छात्रबृति वितरण गरिएको हो ।
छात्रवृत्ति पाउनेमा सरस्वती मावि आहालेका मिन बहादुर थापा, नवज्योति मावि डण्डीडाडाका दिलिप कोईराला, जागेश्वर मावि बोर्लाङका दिपक कुमाल, राष्ट्रिय मावि घलाङका मनिषा कुमाल र नबजागृति चण्डी मावि अश्राङकी रोशनी खातुन रहेका छन् । उनीहरुलाइ जनही दश हजार छात्रवृत्ति रकम उपलब्ध गराइएको कट्टेलले बताए । संगठनको जिल्ला समितिको पहल तथा शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापाको समन्वयमा पाकिस्तानी दूतावासबाट छात्रवृत्ति प्राप्त भएको हो । संगठनका अध्यक्ष राम प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रिय प्रतिनिधी परिषद सदस्य शिवराम कट्टेल, नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य बाबुराम थापा, शिक्षक महासंघका जिल्ला सह–अध्यक्ष राजन कट्टेल लगायतले मन्तब्य राखेका थिए ।