नयाँ बर्षमा संग्रहालयको राजश्व अहिले सम्मकै धेरै
नयाँ बर्षमा संग्रहालयको राजश्व अहिले सम्मकै धेरै
बैशाख, १ गोरखा संग्रहालयले वुधवार एकै दिन ४६ हजार ४ शय १० रुपैया राजश्व संकलन गरेको छ । संग्रहालय घुम्न आउने पर्यटकबाट उक्त राजश्व रकम संकलन भएको संग्रहालय प्रमुख नवराज अधिकारीले बताए ।
उनका अनुसार यो अहिलेसम्मकै धेरै राजश्व हो । ‘एक दिनमा यति धेरै राजश्व अहिलेसम्म उठेको थिएन, यो पहिलो रेकर्ड हो,’ उनले भने । नयाँ बर्षको दिन करिव दुइ हजार पर्यटकले संग्रहालय घुमेको उनले जानकारी दिए । ती मध्य २ शय ११ जना बिद्यार्थी र १ हजार ७ शय ७२ जना सर्वसाधारण रहेका छन् । ‘यसअघि पनि धेरै पयर्टक आएको दिन संख्या यति नै हुन्थ्यो, तर बिद्यार्थी धेरै हुन्थे र राजश्व कम हुन्थ्यो, तर आज बिद्यार्थी भन्दा सर्वसाधारण बढी भएकाले राजश्व धेरै उठेको हो,’ अधिकारीले भने ।
संग्रहालय प्रवेशका लागी बिद्यार्थीलाइ १० र सर्वसाधारणलाई २५ रुपैया तोकिएको छ । चैत्र र बैशाख महिनाभर हप्ताको सातै दिन संग्रहालय खुल्ला रहने बताइएको छ । यसअघि मंगलवार र सार्वजनिक बिदाको दिन संग्रहालय बन्द हुने गथ्र्याे । हप्ताको सातै दिन खुल्दा संग्रहालय घुम्ने पर्यटकको संख्या बढेको कार्यालयले जनाएको छ ।